
युरोपियन च्याम्पियन्स लिग फूटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नै ५ पटकको विजेता बार्सिलोनाले फराकिलो जीत जीत निकालेको छ ।
स्पेनिस क्लब बार्सिलोनाले गएराति घरेलु मैदानमा बेल्जियन क्लब एन्तवेपमाथि ५–० गोल अन्तरको फराकिलो जीत निकालेको हो ।
बार्सिलोनाको फराकिलो ५–० जितमा जाओ फेलिक्सले २ तथा रोबर्ट लेवान्डोस्की र गाभीले १-१ गोल गरेका थिए ।
एक गोल भने बार्सिलोनाले उपहार पाएको थियो । एन्तवेपका जेल्ले बताइलले आत्मघाती गोल गर्न पुगेका हुन् ।
यस जीतसँगै समूह ‘एच’मा रहेको बार्सिलोना ३ अंक जोड्दै शीर्ष स्थानमा रहन सफल भएको छ ।
बर्सिलोनाले जीत निकाल्दा ७ पटकको विजेता एसी मिलान भने बराबरीमा रोकिएको छ । मिलान इंग्लिस क्लब न्युक्यासल युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो ।
अन्य खेलहरूमा जर्मन क्लब आरबी लाइपजिगले स्विस क्लब योङ ब्वाइजलाई ३–१ तथा डच क्लब फेइनुडले स्कटिस क्लब सेल्टिकलाई २–० गोल अन्तरले हराएका छन् ।
यसैगरी, साविक विजेता इंग्लिस क्लब म्यानचेस्टर सिटीले सर्बियन क्लब रेड स्टार बेलग्रेडमाथि ३–१ जीत निकालेको छ भने फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब बोरुसिया डर्टमुण्डमाथि २–० गोल अन्तरको जीत सम्भव बनाएको छ ।
यस्तै, पोर्चुगिज क्लब पोर्टोले युक्रेनी क्लब खाख्तर डोनेस्कलाई ३–१ गोल अन्तरले हराउँदा इटालियन क्लब लाजियो र स्पेनिस क्लब एट्लेटिको म्याड्रिड भने १–१ को बराबरीमा रोकिएका छन् ।
