
विराटनगरको ग्रिनक्रस अस्पतालका सञ्चालक कृष्ण खवाससमेत नवजात शिशु बिक्री गरेको आरोपमा पक्राउ परेका छन् । नवजात शिशु बिक्री गरेको घटनामा संलग्न भएको खुलेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शिशुको बिक्री ग्रिनक्रस हस्पिटलबाट भएको र हस्पिटलबाट संस्थागत त्रुटि भएको अनुसन्धानबाट खुलेपछि सञ्चालक खवासलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन दाहालले जानकारी दिए । उनका अनुसार पक्राउ परेका खवासलाई मोरङ अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
यससँगै नवजात शिशु विक्री प्रकरणमा पक्राउ पर्नेको संख्या सात जना पुगेको छ । प्रहरीले यसअघि नै सोही अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल डा. कर्ण र शिशुका बाबु भोजपुरको हतुवा गढी गाउँपालिका–४ का गोविन्द राई, ग्रिनक्रस अस्पतालकी सरसफाइकर्मी सुधा राजवंशी, कटहरी गाउँपालिका २ की दिलमाया राजवंशी, सूर्यनारायण राजवंशी, सिराहाको कल्याणपुर नगरपालिका १२ की नर्स निर्मला यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो ।
आरोपीहरुले अविवाहित जोडीबाट जन्मिएको एक दिनको शिशु पाँच लाखमा बेचेको खुलेको छ ।
पक्राउ परेकालाई प्रहरीले सङ्गठित अपराध, मानव बेचबिखन तथा ओसारपसार र व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । सरकारी वकिलसँग राय लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए ।