
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन, समृद्धि र सामाजिक न्यायको मूल मन्त्रलाई कार्यान्वयनका लागि सरकार केन्द्रित बनेको बताएका छन् ।
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्नका लागि पनि समृद्धि अपरिहार्य भएको बताए ।
“समृद्धिका लागि सुशासन पूर्व शर्त जस्तै बन्न पुगेको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “त्यसकारण सुशासन कायम गर्ने, समृद्धिको यात्रा र प्रक्रियालाई तीव्रता प्रदान गरेर फड्कोको विन्दुमा पुर्याउने र त्यसपछि सामाजिक न्यायसँगसँगै सुनिश्चित गर्ने भन्ने लक्ष्यसहित सुशासनलाई प्राथमिकता दिएका छौं ।”
राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा र सुदृढीकरणप्रति सरकार दृढ रहेको उनले बताए । सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो तत्कालीन कार्यभारको मूल मन्त्र बनाएर अघि बढेको उनले बताए ।