
नेपाली चलचित्र ‘नाङ्गो गाउँ’ले ६ दिनमा ३ करोड माथिको ग्रस कलेक्सन गरेको वितरकले बताएका छन् ।
भदौको २९ गतेबाट प्रदर्शनमा आएको दीपेन्द्र लामा निर्देशित चलचित्रले बुधवारसम्ममा ३ करोड ३५ लाख ग्रस कलेक्सन गरेको वितरक रोहित कट्टेलले जानकारी दिए ।
उनका अनुसार शुक्रबार ७० लाख, शनिबार ९० लाख कमाएको चलचित्रले आइतबार र सोमबार ९० लाख, मंगलबार र बुधबार ८५ लाखको ग्रस कलेक्सन गरेको हो ।
नेपाली चलचित्रले हलमा दर्शक तान्न नसकिरहेको समयमा ‘नाङ्गो गाउँ’ले भने हलमा दर्शकलाई आकर्षित गरिरहेको छ ।
चलचित्रको यो व्यापारले अब निर्माता मुनाफाको बाटोमा लागेको देखिन्छ ।
हलमा बलिउड चलचित्र ‘जवान’को दबदबा कायम रहनु, अर्को नेपाली चलचित्र ‘एक भागवत र एक गीता’सँग स्क्रिन सेयर गर्नु लगायतका वाध्यताकाबीच पनि दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रले सुखद कमाई गरेको हो ।
चलचित्र विकास बोर्डको सर्भरमा प्राप्त भएको रेकर्ड अनुसार यो चलचित्रको ६ दिनको व्यापार २ करोड ५४ लाख भएको देखिन्छ । तर, विकास बोर्डको सर्भरमा सबै हलको बक्स अफिस नजोडिएकाले व्यापारमा फरक देखिएको वितरक रोहित बताउँछन् ।
चलचित्रको व्यापार विशेषगरि, काठमाडौं, पोखरा, झापा, चितवन, बुटवल र इटहरीमा बलियो छ । यसअघि, खासै दर्शक तान्न नसकेका हलमा समेत यसपटक यो चलचित्रले दर्शक तानेको निर्माणपक्षले दाबी गरेको छ ।
यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ । हिमाल कडरियाको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा जय श्रेष्ठको लगानी छ ।