
बुटवलमा लामो प्रतिक्षापछि पशुवधशाला सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरले साझेदारीमा सञ्चालन गर्ने नीति छाडेर निजी कम्पनीलाई वधशाला सञ्चालनको ठेक्का दिएको छ । उपमहानगरले बोलपत्र आह्वान गरी वधशाला सञ्चालनको ठेक्का दिएको छ ।
उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु वधशाला सञ्चालन गर्ने सम्झौता भएको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडका सञ्चालक तथा कम्पनी प्रतिनिधि रामशरण तिमिल्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार मुक्तिनाथ लाइभस्टकले असोजभित्रमा वधशाला सञ्चालनमा ल्याउनेछ । बुटवल १० रामनगरमा दुई विगाहा क्षेत्रफलमा बनेको वधशाला सञ्चालनका लागि यसअघि सहमति भए पनि विधि र प्रक्रिया नपुगेपछि उपमहानगरपालिकाले गत असारमा पुनःटेण्डर आह्वान गरेको थियो ।
नयाँ प्रक्रियाअनुसार मुक्तिनाथ लाइभस्टकले वार्षिक ५८ लाख ३८ हजार ७१० रुपैयाँ बुटवल उप–महानगरपालिकालाई बुझाउने छ । ५ वर्षका लागि गरिएको सम्झौताअनुसार हरेक वर्ष १० प्रतिशतका दरले रकम वृद्धि हुने बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।
पशु वधशाला सञ्चालन गर्दा पशु वधशाला र मासु ऐन २०५५, पशु स्वास्थ्य तथा सेवा ऐन २०५५, फोहोरमैला व्यवस्थापन ऐन २०६८, वातावरण संरक्षण ऐन २०७६ र उपभोक्ता संरक्षण ऐन २०७५ को पालना गर्ने गरी सम्झौता भएको पन्थीले जानकारी दिए ।
सम्झौता कार्यान्वयनमा आएपछि बुटवल नगरभित्र पशु वधशालाबाहेक स्थलमा व्यवसायिक रूपमा खसी र बोकाको वध गर्न रोक लगाउने तयारी छ ।
उपमहानगरको पशु वधशाला व्यवस्थापन र सञ्चालन ऐन–२०७९ अनुसारको यो व्यवस्था कार्यान्वयनमा आएपछि बुटवलमा रहेका मासु पसलहरूले खसीबोकाको मासु बिक्री गर्दा पशु वधशालामा वध गरी प्रमाणीकरण गरेको मासु मात्रै बिक्री गर्न पाउने छन् ।
वधशाला सञ्चालनमा आएपछि बुटवलवासीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन हुने वधशालामा खसी बोकाको स्वास्थ्य परीक्षण गरी उत्पादन भएको स्वस्थकर मासु उपभोग गर्न पाउने बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले बताए ।
उनले बुटवललाई व्यवस्थित र आधुनिक शहरका रूपमा स्थापित गर्न वधशालाले थप मदत पुर्याउने बताउँदै वधशाला सञ्चालनपछि यस क्षेत्रका किसान र व्यवसायीलाई समेत लाभ पुग्ने जनाए । वधशाला सञ्चालनपछि बुटवल स्वस्थ मासु उत्पादन र बिक्री गर्ने शहरका रूपमा स्थापित हुने र यसले बुटवलबाहिरका शहरमा समेत मासु बिक्री गर्न सक्ने प्रमुख पाण्डेले जानकारी दिए ।
वधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगरसभाबाट पशु वधशाला सञ्चालन र व्यवस्थापन ऐन २०७९ पारित गरिसकेको छ । पशु वधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी वध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, बिक्री गर्न इजाजत पत्र लिनुपर्ने जस्ता व्यवस्था गरिएको छ । वधशाला सञ्चालनपछि बुटवलको मासु स्वस्थ र स्वच्छ हुने र उपभोक्ताले निर्धक्क भएर उपभोग गर्नसक्ने उपप्रमुख सावित्रादेवी अर्यालले बताइन ।
उनले अव्यवस्थित तरिकाले पशु वध र भण्डारण गर्ने गरेका कारण बुटवलका अधिकांश स्थानमा अस्वस्थ मासु बिक्री हुने गरेको अनुगमनका क्रममा पाइएको र वधशाला सञ्चालनपछि त्यस्तो समस्या हट्ने जनाइन ।
झन्डै २२ करोड लगानीमा निर्माण भएको वधशाला क्षेत्रमा खसी बोकाको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, वधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण भएको छ ।
यहाँबाट निस्किने फोहोर प्रशोधन गरेर बायोग्यास निकालिने छ भने पानीलाई पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्ने योजना छ । वधशालामा दैनिक एक हजार खसीबोका वध गर्नसक्ने क्षमता रहेको छ ।
वधशालालाई छिटै नै सञ्चालनमा ल्याउने गरी तयारी अगाडि बढाउने र यस क्षेत्रका किसान र व्यवसायीलाई जोडेर व्यवस्थित तरिकाले वधशाला सञ्चालन गर्ने मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडका सञ्चालक रामशरण तिमिल्सिनाले बताए ।
उनले मुक्तिनाथ लाइभस्टक मुक्तिनाथ कृषि कम्पनीका ८ वटा सहायक कम्पनीमध्येको एक रहेको र यसले आफ्नो विगतको अनुभवका आधारमा व्यवस्थित तरिकाले वधशाला सञ्चालन गर्ने जनाए ।