
हिजो काम, आज काम
काम विदेशमा
काम भन्दा के नै छ र आमा विदेशमा
‘परदेशी–२’ चलचित्रमा समावेश नयाँ गीत ‘हिजो काम...’लाई स्रोता एवं दर्शकले रुचाएका छन् । सतिश चापागाईँको रचना रहेको यस गीतमा चलचित्रका अभिनेतासमेत रहेको प्रशान्त तामाङको स्वर छ ।
बि.बि अनुरागीको संगीत र एरेन्ज, श्याम श्वेत रसाईलीको मिक्सिङ रहेको गीत बुधवार बिहान सार्वजनिक गरिएको थियो ।
युट्युबमा राम्रो भ्युज पाउँदै गीत ट्रेन्डिङमा उक्लिएको छ । गीतमा समावेश संवादले पनि मन छोएको दर्शकले बताएका छन् ।
यो गीतमा परदेशमा रहेका नेपालीहरूको पीडा र वाध्यतालाई समेटिएको छ । भिडियोमा चलचित्रका शीर्ष कलाकार प्रकाश सपूत र दिलीप रायमाझीसँगै रमा थपलिया लगायतलाई प्रस्तुत गरिएको छ ।
बडा दशैँको अवसर पारेर यही असोजको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘परदेशी–२’लाई नारायण रायमाझीले निर्देशन गरेका हुन् ।
नारायण इन्टरनेसनलको प्रस्तुति रहेको चलचित्रलाई राजेश बंशल र नारायण रायमाझीले संयुक्त निर्माण गरेका हुन् ।
चलचित्रमा प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु लगायतको अभिनय छ । गीतकार रमेश बिजीको लेखन रहेको चलचित्रले युवापुस्तामा रहेको बढ्दो विदेश मोहको कथा पेस गर्छ ।
मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्धन्द्ध रहेको चलचित्रमा रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, दीर्घ खड्काको सम्पादन छ ।
चलचित्रको टिम यतिबेला मोफसलका ठूला सहरका कलेजमा पुगेर प्रचारप्रसार गरिरहेको छ ।