
झण्डै साढे ३ महिना ढिलागरी आउन लागेको नेपाल पर्यटन बोर्डको बजेट सार्वजनिक नहुँदै विवादमा परेको छ ।
असार २५ गते नै ल्याइसक्नुपर्ने बजेट भोलि असोज ६ गते ल्याउन लागिएकोमा त्यो पनि सार्वजनिक नहुँदै विवादमा परेको हो ।
कुल बजेटको ७५ प्रतिशत रकम अन्तर्राष्ट्रिय प्रबर्द्धनका लागि छुट्याएको विषयमा विवाद भइरहेको छ ।
विविध कारणले बजेट ल्याउन ढिलाइ भए पनि ७५ प्रतिशत रकम अन्तर्राष्ट्रिय प्रबर्द्धनमा छुट्ट्याइएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले लोकान्तरसँग बताए ।
'विविध कारणले समयमा बजेट ल्याउन सकिएन । भोलि डेढ अर्बको बजेट ल्याउँदैछौं । त्यसमध्ये ७५ प्रतिशत रकम अन्तर्राष्ट्रिय प्रबर्द्धनका लागि छुट्याएका छौं,' रेग्मीले भने ।
बोर्डको मुख्य काम नै अन्तर्राष्ट्रिय प्रबर्द्धन भएको तथा विगतमा पनि ७५ प्रतिशत रकम अन्तर्राष्ट्रिय प्रबर्द्धनमा छुट्याउने गरिएकाले यसपटक पनि १ अर्ब १० करोड जति रकम छुट्याइएको रेग्मीको दाबी छ ।
तर, पर्यटन बोर्डकै उपाध्यक्ष चन्द्र रिजाल भने ७५ प्रतिशत रकम अन्तर्राष्ट्रिय प्रबर्द्धनका नाममा छुट्ट्याउनुमा बदनियत रहेको बताउँछन् । विदेश गएर मोजमस्ती गर्न उक्त रकम छुट्ट्याउन लागिएको उनको आरोप छ ।
'अन्तर्राष्ट्रिय पर्यटन प्रबर्द्धन भन्या के ? मलाई विदेश जान मन लाग्यो भनेर म लण्डन गएर झोला बोकी पैसा खर्च गर्छु भनेको हो ?,' रिजालले लोकान्तरसँग भने, 'नेपालमै बसेर डिजिटल मार्केटिङ गरेर पनि त अन्तर्राष्ट्रिय प्रबर्द्धन हुन्छ नि ! नेपालमै रोजगारी दिएर पनि अन्तर्राष्ट्रिय प्रबर्द्धन हुन्छ नि !'
विदेश गएर पैसा खाने मेलो मात्र भएको उनको आरोप छ ।
'अर्काको देशमा गएर स्टल राख्नु र सबै पैसा खर्च गर्नु मात्र अन्तर्राष्ट्रिय प्रबर्द्धन होइन, अन्तर्राष्ट्रिय प्रबर्द्धनको नाममा पैसा खाने बहाना मात्र हो,' रिजालले लोकान्तरसँग भने ।
असारमै आउनुपर्ने बजेट असोजमा आउँदै
नेपाल पर्यटन बोर्डको आर्थिक तथा खरिद विनियमावली,२०७२ अनुसार समयमै कमिटी गठन गरी ३ वर्षको आय समीक्षा गरेर जेठ १५ गतेभित्र बोर्डमा बजेट पेश गरिसक्नुपर्ने प्रावधान छ ।
त्यसपछि पेश गरिएको प्रस्तावलाई बोर्डले निर्देशन दिएर पठाउने र असार २५ गतेभित्र पास गरिसक्नुपर्ने प्रावधान छ ।
तर, म्याद नाघेको झन्डै ३ महिनापछि मात्र प्रमुख कार्यकारी अधिकृत रेग्मीले बजेट पेश गर्न लागेका हुन् । रेग्मी सचिव नहुँदा समयमा बजेट ल्याउन नसकिएको जिकिर गर्छन् ।
'बीचमा सचिव थिएनन्, प्रशासनिक काम नै हुन सकेन,' रेग्मीले लोकान्तरसँग भने, 'आन्तरिक समस्या पनि थियो । मैले ७५ प्रतिशत अन्तर्राष्ट्रिय प्रबर्द्धनमै बजेट राख्नुपर्छ भन्दा बोर्डका केही सदस्यहरू मान्न तयार हुनुभएको थिएन, त्यसैले समयमा बजेट ल्याउन सकिएन ।'
अन्तर्राष्ट्रिय रूपमा हुने कुन-कुन कार्यक्रमका लागि ७५ प्रतिशत रकम छुट्याइएको हो भन्ने विषयमा उनले केही खुलाउन मानेनन् । बरु उनले बोर्डका अरू सदस्यमाथि आरोप थोपरे ।
'उसै पनि मिडियाको हातहातमा बजेट पुगिसकेको छ । त्यो अनैतिक काम बोर्ड सदस्यले नै गरेका हुन्,' रेग्मीले थपे, 'अब भोलि बजेट आइहाल्छ । अहिले यो विषयमा केही पनि बोल्न चाहन्नँ ।'
तर, उपाध्यक्ष रिजाल भने रेग्मीको भनाइ खण्डन गर्छन् ।
'सचिव नभएर बजेट नआएको भन्नु गलत हो । सचिव चैतमा हुनुहुन्नथ्यो र ? जेठमा हुनुहुन्नथ्यो र ? समयमा ल्याएको भए पुरानै सचिवले सबै टुंग्याउनुहुन्थ्यो । अर्काको टाउकोमा पन्छ्याएर मात्र हुन्न,' रिजालले थपे, 'तथ्य त के हो भने चैतमा नै बजेटको समीक्षा भएर जेठमा बोर्डमा छलफल हुनुपर्थ्यो । असार २५ मा पास हुनुपर्थ्यो ।'
आफूले समयमा काम नगर्ने अनि सचिव भएनन् भनेर दोष थोपर्ने कुरा उचित नभएको उनको तर्क छ ।