
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक पद्धति र देशभक्तिको सोच भएका कम्युनिष्टले देश विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्ने गरेको बताएका छन् ।
नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले मुलुकको स्वाभिमान रक्षाका लागि निरङ्कुश शासनको अन्त्य गर्ने सङ्कल्पका साथ कम्युनिष्ट पार्टीको स्थापना भएको बताए। पछिल्लो समय कम्युनिष्टमा सत्ता मोह देखिका कारण देश विकासको भावनामा कमी आएकाले त्यो कमजोरी सच्याउनपर्नेमा अध्यक्ष नेपालको जोड थियोे ।
मुलुकमा विद्यमान गरिबी पछौटेपनको न्यूनीकरणका लागि औद्योगीकरणको खाँचो औँल्याउँदै उनले त्यसका लागि समाजवादी अर्थ व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निमार्णले ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्रको विकासमा सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण गर्नुपर्ने बताए ।