
राष्ट्रपति रामचन्द्र पौडेलले जीवनलाई सुखमय बनाउन योगाभ्यास आवश्यक रहेको बताएका छन् । सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा योग ध्यानसम्बन्धी स्वजागरण अभियानको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले योगले ‘स्वस्थ मन’ बनाउने बताए । जीवनलाई सुखी बनाउन, शरीर, तन, मन स्वस्थ राख्न र तनाबबाट मुक्त गर्न पनि योगको आवश्यकता रहेको उनले बताए ।
चित्तलाई अनुशासनमा राख्नु नै योगको सार भएको जनाउँदै राष्ट्रपति पौडेलले तटस्थ रहेर कर्म गर्न पनि योगको भूमिका रहने उल्लेख गरे ।
अलिकति योग, व्यायाम गर्दा पनि शरीरलाई स्वस्थ बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।
समारोहमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्रालयको योग र ध्यान गर्ने निर्णयअन्तर्गत कार्यक्रम शुरूआत गरिएको जानकारी दिए । कार्यक्रमलाई प्रदेश र जिल्लामा समेत विस्तार गर्न लागिएको उनले बताए ।
उद्घाटन, खाना, खाजा, विश्राम, प्रश्नोत्तर र समापन समयसहित अपरान्ह ४.३० सम्म योगाभ्यास, प्राणायम र ऊर्जा ध्यान जारी रहने सशस्त्रका सह प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।