
नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध भएका छन् । उनी निर्विरोध भएपछि अब उनकै प्यानलका पारस खड्काको प्रतिस्पर्धा कस्तो होला भन्ने धेरैलाई चासो छ ।
नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का चन्दकै प्यानलबाट पूर्व केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्लसँग भिड्न लागेका हुन् ।
क्यानमा ८५ मत छ । यस्तोमा जित्नका लागि ४४ मत ल्याउनुपर्ने हुन्छ ।
पारसले अध्यक्षकै लागि उम्मेदवारी दिने बताउँदै आएका थिए । तर वाग्मती प्रदेश क्रिकेट संघको अध्यक्ष भएपछि उनी चतुरबहादुर चन्दसँग प्यानल बनाएर सचिवमा उम्मेदवारी दिन तयार भएका हुन् । एकैपटक अध्यक्षमा भिड्दा धेरैले नरुचाउने भएकोले एक कार्यकाल प्रदेश हुँदै केन्द्रीय पदाधिकारीमा चुनाव लड्ने मनस्थिति बनाएर पारसले सचिवमा उम्मेदवारी दिएका हुन् ।
पारससँग भिड्न लागेका मल्ल अशोकनाथ प्याकुरेलले सचिवबाट राजीनामा दिएपछि सोही पदमा नियुक्त भएका थिए । मल्ल २०७८ असोज २१ मा सचिवमा मनोनीत भएका थिए । तर उनले २०७९ असोजमा सचिवबाट राजीनामा दिएका थिए ।
यस अघि १५ भदौमा भएको चुनावमा पारसले बागमती अध्यक्ष जितेका थिए । पारस २३ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी उमेश पियाले १४ मत पाएका थिए ।
चन्द भने तेस्रोपटक अध्यक्ष भएका हुन् । क्यानका कोषाध्यक्ष रोशन सिंह उपाध्यक्षमा निर्विरोध भएका छन् । सिंह पनि चन्द प्यानलकै हुन् । कोषाध्यक्षमा पदमबहादुर खड्का पनि चन्द प्यानलबाटै निर्विरोध भएका हुन् ।