२२ जेठ २०८३, शुक्रबार
क्यानको नेतृत्वमा चन्द

को हुन् क्यान अध्यक्षमा ‘ह्याट्रिक’ गरेका चतुरबहादुर चन्द ?

असोज ६, २०८०
काठमाडौं
को हुन् क्यान अध्यक्षमा ‘ह्याट्रिक’ गरेका चतुरबहादुर चन्द ?

नेपाली क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् ।​

चन्दविरुद्ध विनयराज भण्डारीले उम्मेदवारी दिने भने पनि अन्तिम समयमा उनी ब्याक भए । यसैले चन्द निर्विरोध बन्न सफल भए । अध्यक्षको रुपमा उनको यो तेस्रो कार्यकाल हो ।

चन्द २०५२ सालदेखि नै क्रिकेटको संस्थासँग जोडिँदै आएका छन् । तर उनी कांग्रेसको राजनीतिसँग सम्बन्धित छन् । उनी अहिले पनि नेपाली कांग्रेसको बैतडी जिल्ला सभापति हुन् । 

चन्द २०५२ सालमा बैतडीको दशरथ चन्द स्मृति केन्द्रको क्रिकेट विभाग प्रमुख भएका थिए । उनी २०६० मा क्यानको केन्द्रीय सदस्य भए । २०६३ मा क्यानका उपाध्यक्ष र २०७२ मा क्यानको अध्यक्ष चुनिएका थिए ।

तर क्यानमा चन्द अध्यक्ष भए पनि राखेपका सदस्य सचिव केशवकुमार विष्टले रमेश सिलवालको नेतृत्वमा क्यानको समानान्तर समिति बनाउन भूमिका खेलिदिए ।

क्यानलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन नसकेको, आर्थिक रुपमा पारदर्शी नभएको, राखेपले मान्यता नदिएको जस्ता विवादमा चन्द नेतृत्वको क्यान फस्यो ।

यसैलाई कारण देखाउँदै आईसीसीले चन्द आएको ५ महिनामा नै क्यानलाई निलम्बन गरिदियो । निलम्बनपछि आईसीसीले नै नेपाली क्रिकेटको टिमको बजेट, प्रतियोगितासहितको व्यवस्थापनको जिम्मा लिएको थियो ।

१२ वैशाख २०७३ देखि आईसीसीको निलम्बनमा परेको क्यान साढे तीन वर्षमा बल्ल फुकुवामा परेको थियो । फेरि चन्द २०७६ असोजमा क्यानको अध्यक्ष भएका थिए ।

चन्द दोस्रोपटक अध्यक्ष भएको केही दिनमै २०७६ असोज २७ आईसीसीले क्यानको निलम्बन फुकुवा गरेको थियो । शनिवार पनि अध्यक्षमा निर्विरोध भएपछि उनले क्यानमा ह्याट्रिक नै गरेका छन् ।

आईसीसीको निलम्बनको रहँदा गर्दा नेपालले आईसीसीबाट एकदिवसीय क्रिकेटको मान्यता पाएको थियो ।

चन्दले पटकपटक क्यानलाई राजनीतिबाट मुक्त पार्ने बताउँदै आएका छन् । तर उनी स्वयम भने कांग्रेस पार्टीको जिल्ला सभापति छन् । १३ औं महाधिवेशनबाट बैतडी उपसभापति भएका चन्द १४ औंबाट सभापतिमा निर्वाचित भएका थिए ।

राजनीतिबाट मुक्त गराउने मात्रै नभएर क्रिकेटको पूर्वाधार र प्रतियोगिताको बेकामे क्रमलाई तोड्नुपर्ने चुनौती चन्दसामु छन् ।

किनकि क्रिकेटप्रति खेलाडीको लगाव र समर्थकको अपार साथ हुँदा पनि संरचना र नियमित प्रतियोगिताको अभावले क्रिकेटले नेपालमा संस्थागत रुप लिन सकेको छैन । यसलाई चिर्न सक्नुपर्ने चुनौतीमा चन्द छन् । नियमित प्रतियोगिता हुँदा खेलाडी उत्पादन हुने, एक्सपोजरको लागि बलिया देशसँग प्रतियोगिता गराउने अवस्था छ । 

क्रिकेट खेलाडीलाई तोकिएको पुरस्कारसमेत दिन नसक्ने जस्ता कमजोरीबाट माथि उठाउनुपर्ने जिम्मेवारी चन्दको काँधमा फेरि आएका छन् ।  

आन्तरिक क्रिकेटमा प्रभाव जमाए पनि अझै पनि आईसीसीसँग प्रभावशाली पहुँच विस्तार गर्न नसकेको आरोप चन्दले खेप्दै आएका छन् ।

अध्यक्षमा सर्वसम्मत

लगातार दुईपटक अध्यक्ष भए पनि उनले कार्यकाललाई सौहार्द बनाउन सकेका थिएनन् । आन्तरिक व्यवस्थापन कमजोर हुनुको बाबजुद नेपाली टिमले विश्व लिग २ मा प्रभावशाली प्रदर्शन गर्न पुग्यो ।

नेपालले विश्वकप क्वालिफायरमा मोन्टी देशाइ आएपछि प्रभावशाली प्रदर्शन गर्‍यो । यतिमात्रै होइन एसिया कपमा छनोट भएर पाकिस्तान र भारतविरुद्ध सम्मानजनक गरेकै समयमै चन्द फेरि क्यानको नेतृत्वमा आएका छन् । 

चन्दलाई नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले चुनौती दिने तयारी गरेका थिए । तर बागमती क्रिकेट संघका अध्यक्षमा जितेका पारसलाई सचिवमा आफ्नो प्यानलमा पार्न चन्द सफल भए ।

अर्का अध्यक्षका आकांक्षी विनयराज भण्डारीलाई पनि मिलाउन चन्द सफल भएका छन् । क्रिकेटका संरचनागत सुधारको चुनौती भने उनीसामु छन् ।

salt training

कमेन्ट गर्नुहोस्