१० साउन २०८३, आइतबार

एक वर्षमा के–के नै गर्न सकिन्छ भन्ने लागेको थियो, नसक्दा म आफैँ पनि सन्तुष्ट छैन: सांसद डाँगी

असोज ७, २०८०
काठमाडौं
एक वर्षमा के–के नै गर्न सकिन्छ भन्ने लागेको थियो, नसक्दा म आफैँ पनि सन्तुष्ट छैन: सांसद डाँगी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले सांसदहरू आफ्नो मुख्य भूमिकामा धेरै हदसम्म चुकेको बताएकी छन् । विधायिकाको भूमिकामा प्रभावकारी काम गर्ने हुटहुटीका बाबजुद संसदीय अभ्यासमा सक्रिय हुन नसकेको उनको  बुझाइ छ । 'म आफैँलाई आफ्नो अपेक्षामा खरो उत्रिन सकेको छैन कि जस्तो लाग्छ । एक वर्षमा के–के नै गर्न सकिन्छ भन्ने लागेको थियो । मेरो व्यक्तिगत प्रयासका बाबजुद समग्र सदनको अभ्यास ‘प्यासिभ’ भएकै हो । सोचेअनुरूप काम गर्न नसक्दा म आफैँ पनि सन्तुष्ट छैन,' उनले भनिन्, 'सदनदेखि संसदीय समितिमा राम्रो ‘पर्फमेन्स’ दिन्छु, अध्ययनशील बन्छु, राम्रो गर्छु, नेतृत्व गर्छु भन्ने हिसाबले लागिपरेको छु । तर, न समिति सक्रिय भइदिन्छ, न सदनमा जनताको आवाज बोल्ने पर्याप्त समय पाइन्छ ।'

रास्वपाको संसदीय दलको सचेतकसमेत रहेकी डाँगीले कम उमेरमै संसदीय अभ्यासमा आफ्नो भूमिका ओजपूर्ण बनाउन प्रयत्नशील रहेको बताइन् । पूर्वाधार विकास समितिको सदस्यसमेत रहेकी डाँगीले समितिको बैठक नियमितरूपमा बस्न नसक्दा विधेयकमाथिको छलफलले तीव्रता पाउन नसकेको गुनासो गरिन् । 'मेरो राजनीतिक पृष्ठभूमि छैन । तर मभित्र समाजमा कुनै पनि हिसाबले योगदान पुर्याउनुपर्छ भन्ने सोच पहिल्यैदेखि थियो । अब विधायिकाको  जिम्मेवारी प्राप्त गरेसँगै मलाई अल्मलिने न समय छ न छुट,' उनले भनिन्, 'धेरै बजेट खर्च हुने र धेरै मन्त्रालय सम्बन्धित हुने समिति पूर्वाधार विकास समिति हो । तर समितिको सभापति चयन भएको एक महिना बित्दा पनि कुनै विधेयकमाथि दफावार  छलफल हुनसकेको छैन ।'

सदनलाई सरकारले ‘बिजनेस’ नदिने र सांसदहरूले सकारात्मक दबाब सिर्जना गर्न नसक्दा पनि सदन क्रियाशील नदेखिएको उनको बुझाइ छ । 'हामी कति पुराना कानुनमा चलिरहेका छौँ तर सरकारले ‘बिजनेस’ दिँदैन । स्वयं हामीले घच्घच्याउन सकेनौं,' उनी भन्छिन्, 'त्यसमा सिङ्गो सदनसँगै म पनि सांसदको रूपमा चुकेको हुँ कि जस्तो लाग्छ।' रासस

salt training

कमेन्ट गर्नुहोस्