
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसकै अर्थमन्त्री हुँदा देश आर्थिक संकटमा पर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । केन्द्रीय समितिको बैठकमा पौडेलले अर्थतन्त्रमाथि संकट आउँदा पनि कांग्रेसले निकास दिन नसकेको बताएका हुन् ।
‘हामी आर्थिकरूपमा कमजोर अवस्थामा पुगेका छौं । रेमिटेन्स हेरी समस्या छैन भनेर ढुक्क नबनौं । बैंकमा चार खर्ब पैसा थुप्रिएको छ । तर, अथाह पैसा भए पनि बजारमा किन आउँदैन ? अर्थमन्त्री हाम्रो हुनुहुन्छ, तर आर्थिक संकट छ । यसमा हामीले जवाफ दिनुपर्छ,’ पौडेलले भने, ‘३५ प्रतिशत सटर बन्द छन् । एक बोरा चामलमा ३ सय रुपैयाँ बढेको छ, यसैले हामी जवाफदेही र जिम्मेवार हुनैपर्छ ।’
अर्थतन्त्र धरासायी हुँदा गठबन्धन जोगाउनु मात्रै उपलब्धि नभएको उनको भनाइ ।
‘गठबन्धन जोगाउनु मात्रै उपलब्धि होइन । सरकारमा बसेपछि पार्टीलाई लोकप्रिय बनाउनुपर्छ, तर, हाम्रा नेता एवं साथी मन्त्री भए भनेर भन्न सकिने अवस्था छैन । पाइएको छैन । सकारमा बसेर यसरी हुँदैन, लोकप्रिय काम गर्न सक्नुपर्छ,’ पौडेलले भने, ‘लगानीको वातावरण बनाउने, रोजगारी वृद्धि गर्ने वातावरण हामीले बनाउनुपर्छ । यी सबै विषयमा महासमितिको बैठकमा छलफल गरेर एउटा दृष्टिकोण बनाउनुपर्छ ।’
यसअघि पनि कांग्रेसको बैठकमा डा. गोविन्दराज पोखरेल, मीन विश्वकर्मासहितका नेताले कांग्रेसको अर्थमन्त्री हुँदा अर्थतन्त्र झन् धराशायी हुनु दुःखद् भएको बताएका थिए ।