
सामाजिक सुरक्षा कोष (एसएसफ)मा अब आईएमईमार्फत रकम जम्मा गर्न सकिने भएको छ ।
विदेशमा रहेका नेपालीहरूको सहजताका लागि विदेशस्थित आईएमई रेमिटेन्स पार्टनरमार्फत यो सुविधा लिन सकिने आईएमईले जनाएको छ ।
यो सेवा शुरु गर्दै एसएसएफलाई रेमिटेन्स प्लेटफर्ममा एकीकृत गर्ने आईएमई पहिलो रेमिटेन्स कम्पनी बनेको छ ।
आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आईएमईले यो सुविधामार्फत विदेशमा रहेका नेपालीको भरोसालाई कायम राख्न थप सेवा प्रदान गरेको बताए ।
कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजनाको प्रवर्द्धनका लागि समेत आईएमईको सेवाले सहयोग पुग्ने अधिकृत पौडेलले उल्लेख गरेका छन् ।
यसअघि सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नागरिकले सामाजिक सुरक्षा योजना अन्तर्गत कम्तीमा नेपाल सरकारबाट तोकिएको न्यूनतम् आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् हाल न्यूनतम् रु दुई हजार दुई मासिक रूपमा र अधिकतम न्यूनतम् आधारभूत पारिश्रमिकको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुनसक्ने व्यवस्था मिलाएको थियो ।