
काठमाडौंको शंखरापुर नगरपालिकाले नगरबासीलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुष्मा कोइराला मेमोरियल अस्पतालसँग सम्झौता गरेको छ । साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालमा शंखरापुर नगरपालिकाका ९ वटै वडाभित्र बसोबास गर्ने स्थानीयले ७ वटा निःशूल्क स्वास्थ सेवा र ११ वटा सहुलियतपूर्ण स्वास्थ्य सेवा पाउनेगरी सम्झौता भएको नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आइतबार नगर प्रमुख रमेश नापित र अस्पतालका निर्देशक सन्तोष बिक्रम भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
प्रत्येक महिना अस्पतालले निःशूल्क उपचार सेवा दिएको विवरण नगरपालिकाको सम्बन्धित शाखा र नगर कार्यपालिकामा बुझाउनुपर्ने छ । अस्पतालले दिएको सेवाबारे गुनासो भए जनप्रतिनिधिलाई जानकारी दिने र गुनासो व्यवस्थापनका लागि छलफल गरेर सुधार गर्ने पनि सहमति भएको छ ।
समझदारी पत्रमा हस्ताक्षर गरेपछि नगरप्रमुख नापितले निर्वाचनका बेला आफूले गरेको प्रतिबद्धता कार्यान्वयन गरेको बताए । नगरवासीको सेवामा आफू दृढ संकल्पिक भएर लागिपरेको उनले बताए । न्यून आम्दानी भएका तथा सामान्य स्वास्थ्य सेवा लिनबाट समेत वन्चित नगरवासी सम्झौताबाट लाभान्वित हुने उनले बताए । कोही पनि नगरबासी स्वास्थ्य उपचारबाट वञ्चित नहोउन् भन्नेमा नगरपालिका संवेदनशील रहेको उनको भनाइ छ ।
यी हुन् निःशुल्क र छुटमा पाइने उपचार सेवा
नगरप्रमुख नापित र सुष्मा कोइराला मेमोरियल अस्पतालका निर्देशक डा. भण्डारीबीच ७ प्रकारका स्वास्थ्य उपचार निःशुल्क गर्ने सम्झौता भएको हो । जस अनुसार डेन्टल ओपीडी, जेनेरल ओपीडी, प्लास्टिक सजर्री, इमेर्जेन्सी सेवा निःशुल्क हुनेछ । त्यस्तै फिजियोथेरापी ओपीडी, ड्रेसिङ र नर्मल बेड निःशुल्क गर्ने सम्झौता भएको छ ।
यस्तै इन्भेस्टिगेशनअन्तर्गत ल्याब, एक्सरे, ईसीजी, यूएसजीमा लागेको खर्चमा छुटको व्यवस्था गरिएको छ । स्पेशल ओपीडीअन्तर्गत गाइनो, अर्थो, स्पाइन, साइकोलोजी, साइक्याट्री, इएनटीमा लागेको खर्चमा पनि छुटको व्यवस्था गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
निःशुल्क तथा विशेष छुटमा गरिएको उपचार खर्च नगरपालिकाले अस्पतालाई भुक्तानी गर्नेगरी सम्झौता भएको हो । स्थानीय तहको निर्वाचनमा राप्रपाबाट निर्वाचित भएका नापितले चुनावअघि नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।