
१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा मङगोलियाविरुद्धको खेलमा महत्त्वपूर्ण तीन कीर्तिमान बनेका छन् । टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएको छ ।
नेपालले मंगोलियाविरुद्ध नेपालले २० ओभरमा तीन विकेट मात्रै गुमाएर ३१४ रन बनायो । यसअघि अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८ रन बनाएको थियो । नेपालले अफगानिस्तानको रेकर्ड तोडेको हो ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक १३७ रन बनाए । उनले ५० बलमा ८ चौका र १२ छक्का प्रहार गर्दै १३७ रन बनाए ।
यस्तै कप्तान रोहित पौडेलले २७ बलमा ६१ रन बनाए । उनले २ चौका र ६ छक्का प्रहार गरे । दिपेन्द्र सिंह ऐरीले मात्रै १० बलमा ५२ रन बनाए । उनले ८ छक्का प्रहार गरे ।
कुशलको कीर्तिमानी शतक र ऐरीको अर्धशतक
नेपाली युवा ब्याट्समेन कुशल मल्लले टी–२०आई क्रिकेटमा विश्व कीर्तिमानी शतक प्रहार गरेका छन् । मल्लले मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका हुन् । यसअघि नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले २०१९ मा सिंगापुर विरुद्ध ४९ बलमा शतक बनाएका थिए ।
ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका छन् । एसियन गेम्समा मंगोलियाविरूद्ध उनले ९ बलमै अर्धशतक पूरा गरेका हुन् । यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान दीपेन्द्रले तोडेका छन् । उनी ६ बलमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडीसमेत बनेका छन् ।
यसअघि टी२० आईमा सर्वाधिक छिटो शतक ३५ बलमा थियो । भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए ।
मंगोलियाविरुद्ध कीर्तिमानी प्रर्दशन गर्ने क्रममा तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले १९३ रनको कीर्तिमानी साझेदारी गरे।
कुनै पनि खेलमा तेस्रो विकेटका लागि नेपाली ब्याटरले गरेको यो अहिलेसम्मकै उच्च साझेदारी हो । मल्ल एकै खेलमा नेपालबाट कुनैपनि खेलमा सर्वाधिक रन बनाउने नेपाली ब्याटर बनेका छन् ।
अपडेट:
नेपालले मंगोलियाविरुद्ध कीर्तिमानी जीत हात पारेको छ । नेपालले दिएको ३१५ रनको विशाल लक्ष्य पछ्याएको मंगोलियामा १३.१ ओभरमा ४१ रन मात्रै बनाएर अलआउट भयो ।
नेपालले मंगोलियाविरुद्ध कीर्तिमानी २७३ रनको जीत हात पारेको छ । यसअघि चेक रिपब्लिकले सन् २०१९ मा टर्कीविरुद्ध सर्वाधिक २५७ रनको फराकिलो जीत हात पारेको थियो ।