२३ असार २०८३, मंगलबार

भक्तपुर प्रवेश गर्ने पर्यटकलाई भादगाउँले टोपीले स्वागत

असोज १०, २०८०
काठमाडौं
भक्तपुर प्रवेश गर्ने पर्यटकलाई भादगाउँले टोपीले स्वागत

विश्व पर्यटन दिवसका अवसरमा आज भक्तपुर नगर प्रवेश गर्ने पहिलो पर्यटकलाई नगरपालिकाले भादगाउँले टोपीले स्वागत गरेको छ ।

नगरपालिकाले नगर प्रवेश गर्ने खौमा ध्वाका (ढोका)मा एक अष्ट्रेलियन र १६ भारतीय नागरिकलाई खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाका साथ स्वागत गरेको हो ।

‘पर्यटन र हरित लगानी’ मूल नाराका साथ भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीको संयुक्त आयोजनामा पर्यटकलाई स्वागत गरिएको हो ।

पर्यटकलाई स्वागत गर्दै नगरप्रमुख सुनिल प्रजापतिले पुरानो शहर आफैंमा एउटा सम्पदा शहर भएको जनाउँदै भक्तपुरको कला र संस्कृति संरक्षणलाई नगरपालिकाले निरन्तर जोड दिँदै आएको बताए । 

भक्तपुर निर्माणमा आन्तरिक तथा बाह्य पर्यटकहरूको पनि महत्वपूर्ण योगदान रहेको जनाउँदै उनले भने, “सयौं वर्षदेखि चल्दै आएको भक्तपुरको परम्परा र संस्कृतिलाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन भक्तपुर नगरपालिकाले आवश्यक पहल गर्दै आइरहेको छ ।”

भक्तपुर प्रवेश गर्ने पर्यटकहरूमध्येका एक जनाले भक्तपुरले गरेको न्यानो स्वागतबाट आफू निकै प्रभावित भएको र सोका लागि धन्यवाद ज्ञापन गर्दै यहाँका कला कृतिहरू आफैंमा अद्वितीय रहेको तथा यहाँको पर्यटन प्रवर्द्धनमा आफ्नातर्फबाट सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

नगरप्रमुख प्रजापतिले नगर प्रवेश गर्ने पहिलो पर्यटकहरूको टोलीलाई मयूरको झ्याल र पिक्टोरियल बुक उपहारस्वरूप प्रदान गरेका थिए ।

कार्यक्रममा नपाका कार्यपालिका सदस्यहरू, कर्मचारी र पर्यटनसँग सम्बन्धित सरोकावालाहरूको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्