०५ साउन २०८३, मंगलबार

गोर्खाली संस्कृति फैलाउन आसामका नेपालीभाषी जुटेः ल्याए गीत ‘हे माया नाँचन...’ [भिडियोसहित]

असोज १०, २०८०
काठमाडौं
गोर्खाली संस्कृति फैलाउन आसामका नेपालीभाषी जुटेः ल्याए गीत ‘हे माया नाँचन...’ [भिडियोसहित]

गोर्खालीको भेष हेर कति राम्रो लाग्छ 

मारुनीलाई देखेर नाचौं नाचौं लाग्छ

यी शब्द हुन् ‘हे माया नाँचन...’ गीतका । केही दिनअघि सार्वजनिक यस गीतले नेपाली कला र संस्कृतिलाई चित्रित गर्छ । 

यो गीत भारतको आसाम राज्यको गुवाहाटीमा बस्दै आएका नेपालीभाषी युवाको समूहले ल्याएको हो । यो मात्र होइन, उनीहरूले यसअघि पनि थुप्रै नेपाली गीत ल्याइसकेका छन् । 

ती युवाको प्रयास हो, नेपाली कला र संस्कृतिको संरक्षण गर्नु । साथै, आफ्नो कला र संस्कृतिलाई संसारभर फैलाउनु । 

उनीहरूले आफ्नै खर्चमा गीत र भिडियो बनाउने गरेका छन् । ‘मेलोडी भ्वाइसेस अफिसियल’ नामक युट्युब च्यानल खोलेका छन् । सोही च्यानलमा भिडियो सार्वजनिक गर्ने गरेका छन् । 

अहिलेसम्म उनीहरूले एक दर्जनभन्दा बढी गीत ल्याएका छन् । जसमध्येको पछिल्लो गीत हो, ‘हे माया नाँचन...’ । 

रोशन क्षेत्रीको शब्द रहेको गीतमा उनीसँगै शिवांगी नाथको स्वर छ । 

गोर्खाली हामी हाम्रो संस्कृति धेरै मन पर्ने

दशैंको टीका लगाएर आमाले मायाले आशिष दिने

गीतमा तीजदेखि दशैंसम्मको विष समेटिएको छ । भाइटीका–देउसीसम्मको कुरा गरिएको छ । भिडियोमा कलाकारहरूले मौलिक पहिरनमा नृत्य गरेका छन् । 

युवाहरूको समूहमा रोशन क्षेत्री, अमन सुवेदी, अनिशा सापकोटा, मल्लिका उपाध्यायलगायत छन् । 

रोशनका अनुसार झण्डै दुई वर्षअघि युट्युब च्यानलको सुरुवात गरिएको थियो । 

समूहमा उनको जिम्मेवारी गीत लेख्ने, गाउने र भिडियो निर्माण गर्नु हो । 

उनी आसामका विभिन्न क्षेत्रका प्रतिभालाई समेटेर आफूहरू अगाडि बढेको बताउँछन् । 

भिडियोमा नृत्य गर्दै आएका अमन भन्छन्, ‘गोर्खाली संस्कृतिलाई सबैतिर फैलाउने हाम्रो प्रयास हो ।’ 

मेलोडी भ्याइसेससँग जोडिएर राम्रो गीतमा नृत्य गर्न पाएकोमा अनिशाले खुशी व्यक्त गर्छिन् । 

आसामका विभिन्न प्रान्तमा छरपस्ट भएर गोर्खाली समाज बसोबास गर्ने गरेका छन् । यद्यपि, त्यहाँबाट नेपाली भाषा वा गोर्खा संस्कृतिमा लेखिएका वा नाचिएका गीतहरू न्यून मात्रै निर्माण र सार्वजनिक हुने गरेका छन् । 

पछिल्लो समय नेपालमा गीतहरू उश्रृङखल भए, मौलिकता गुमाए भन्ने गुनासो बढिरहेको छ । यस्तोमा आसाममा रहेका नेपालीभाषी युवाहरूले आफ्नो कला र संस्कृति संरक्षण तथा प्रचारप्रसारमा गरेको प्रयास उदाहरणीय मान्न सकिने सरोकारवालाहरू बताउँछन् । 

नेपाली संगीत र साहित्यलाई माया गर्ने दीपक खनाल आसाममा रहेका नेपालीभाषीले नेपाली कला, संस्कृतिको संरक्षण र सम्बद्र्धनमा दिएको योगदान उच्च रहेको बताउँछन् । 

‘हामीले बरु हाम्रो संस्कार, संस्कृति, परम्परा बिर्सिँदै गइरहेको पाउँछौं । तर, पुस्तौंपुस्ता बाहिर बसेर पनि नेपाली संस्कृति, संगीत, धर्म, संस्कारलाई संबद्र्धन गरिरहनुभएको छ । त्यही कुरा गीतमा हेर्न पाइएको छ,’ खनाल भन्छन् ‘युवाहरूको कदम साँच्चिकै कदरयोग्य छ ।’ 

उक्त गीतले आसामका नेपाली आफ्नो पुख्यौली नेपाली भाषा, मौलिक संस्कार, संस्कृति र परम्परालाई जोगाउन कति सचेत छन् भन्ने समेत देखाउने उनले बताए ।
 

हेरौं भिडियोः 


 

salt training

कमेन्ट गर्नुहोस्