२८ जेठ २०८३, बिहीबार

भारतीय क्रिकेटरको ‘रेकर्ड’ तोडेकोमा ओलीले दिए नेपाली खेलाडीलाई बधाई

असोज ११, २०८०
काठमाडौं
भारतीय क्रिकेटरको ‘रेकर्ड’ तोडेकोमा ओलीले दिए नेपाली खेलाडीलाई बधाई

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एसियाली खेलकुदअन्तर्गत मंगोलियाविरुद्धमा विभिन्न कीर्तिमान बनाउँदै भारतीय क्रिकेटरका समेत ‘रेकर्ड’ तोडेका नेपाली खेलाडीहरूलाई बधाई दिएका छन् । उनले बिहीवार सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाली क्रिकेटरको प्रदर्शनबारे भारतसँगै विश्वभर चर्चा भएकोप्रति पनि खुसी व्यक्त गरेका छन् । 

‘नेपाली क्रिकेटरको कीर्तिमानी प्रदर्शनको विश्वभर चर्चा भएको छ। खासगरी टी–२०, वान डे, टेस्ट क्रिकेटमा माथिल्लो स्तरमा रहेको भारतका मिडियामासमेत नेपालको क्रिकेटको व्यापक चर्चा छ । अन्तर्राष्ट्रिय मिडियामा नेपाली क्रिकेट टोलीको प्रशंसाले मन आनन्दित भएको छ । बधाई नेपाली टोली र खेलाडीलाई !’, उनले टिकटकको भिडियो बिहीवार फेसबुकमा राख्दै लेखेका छन् । 

बुधवार बिहान नेपालले मंगोलियाविरुद्ध कीर्तिमानै–कीर्तिमान बनाएको थियो । जसमा बनाएका ४ वटा कीर्तिमान भने महत्वपूर्ण रहे ।

मंगोलियाविरुद्ध नेपालले सबैभन्दा ठूलो स्कोर (३१४ रन), सबैभन्दा ठूलो रन अन्तरको जीत (२७३ रनको), कम बलमा शतक, (कुशल मल्ल, ३४ बल) र कम बलमा अर्धशतक (दीपेन्द्रसिंह ऐरी, ९ बल)जस्ता ४ वटा कीर्तिमान बनाएको थियो । 

भारतका ठूला मानिएका सञ्चारमाध्यम (मिडिया)हरूले पनि नेपालले बनाएका कीर्तिमानबारे प्राथमिकतामा राखेर समाचार बनाएका छन् । नेपाली खेलाडीले भारतका वर्तमान कप्तान रोेहित शर्मा र युवराज सिंहजस्ता खेलाडीको कीर्तिमान भंग गरेका छन् । कुशल मल्लले ३४ बलमै शतक बनाएर कीर्तिमान बनाएका थिए । 

कुशलले रोहित र दक्षिण अफ्रिकाका डेभिड मिल्नरको विश्व कीर्तिमान तोेडेका हुन् । 

यस्तै, दीपेन्द्रसिंह ऐरीले भारतका युवराज सिंहको कीर्तिमान भंग गरेका थिए । दीपेन्द्रले ९ बलमै अर्धशतक हानेका थिए । यसअघि १२ बलमा शतक हानेको कीर्तिमान युवराजको नाममा थियो ।

चीनको झेजियाङमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले मात्र ३ विकेटको क्षतिमा ३१४ रन बनाएको थियो । 

नेपालका लागि कुशलले सर्वाधिक अविजित १३७ रन बनाएका थिए । कप्तान रोहित पौडेलले ६१ र दीपेन्द्रले अविजित ५२ रन बनाएका थिए । 

३१५ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा आएको मंगोलिया १३.१ ओभरमा मात्र ४१ रन बनाएर अलआउट भयो । नेपालका लागि सन्दीप लामिछाने, करण केसी र अविनाश बोहराले समान २ विकेट लिएका थिए ।  


 

salt training

कमेन्ट गर्नुहोस्