२८ जेठ २०८३, बिहीबार

‘रङ्गमञ्चमा सिकेका कुरा चलचित्रमा प्रयोग गर्न नपाउँदा खल्लो लाग्छ’

असोज ११, २०८०
काठमाडौं
‘रङ्गमञ्चमा सिकेका कुरा चलचित्रमा प्रयोग गर्न नपाउँदा खल्लो लाग्छ’

नेपाली चलचित्रमा केही समय यता कथाको शैलीमा परिवर्तन आएको छ । कथाको आकर्षणले अभिनेतालाई चरित्र निर्वाह गर्न बाध्य बनाउने अभिनेता भोलाराज सापकोटाले बताएका छन् । 

उनले चलचित्र ‘कौसीद’को भूमिका सुनेपछि काम गर्न सहमत भएको बताए । चलचित्रमा इमानदार शिक्षकले भोग्ने पीडा देखाइएको उनले बताए । भारतमा ‘बर्फी’ चलचित्रमा काम गरेपछि चर्चामा आएका अभिनेता सापकोटा नेपाली चलचित्र र रङ्गमञ्चको स्थापित नाम हो । ‘मैले नेपाली रङ्गमञ्चमा काम नगरेको होइन, तर बलिउडको प्रभाव बढी भएकाले अभिनेता रणवीर कपूरका साथी भनेर चिनारी पाएको छु । नेपाली नाटक प्रेमीले मलाई विभिन्न नाटकका पात्रको रुपमा चिन्नुहुन्छ’, अभिनेता सापकोटाले भने, ‘रङ्गमञ्चमा सिकिएका कुरा चलचित्रमा प्रयोग गर्न नपाउँदा कहिलेकाहीँ खल्लो लाग्छ । त्यस समयमा निर्देशकको कलाकार (डिरेक्टर्स एक्टर) भइदिन्छु ।’ 

केही चलचित्रमा आफ्नो पात्रलाई निर्माण गर्न नपाउँदा निर्देशकका अनुसार काम गरेको उनले बताए । अभिनेता सापकोटाले भने, ‘मैले देखेका थुप्रै शिक्षकमार्फत प्रभावित भएर कौसीदको पात्र बन्न तयार भएको हुँ ।’ 

चलचित्रमा उनले इमानदार शिक्षकको भूमिका निर्वाह गरेका छन् । श्रीमती र आफन्तको अनुरोधमा बैँकबाट ऋण लिएर घर निर्माण गरेपछि अचानक बढ्ने ब्याजदरले निम्त्याउने समस्या चलचित्रमा देखाइएको छ । उनले इमानदार भएर सामना गर्नुपर्ने कठिनाइलाई चलचित्रमा देखाइएको बताए । 

चलचित्रको कथासार मन परेपछि चरित्र निर्माणमा उनी स्वयम् खटिएका थिए । ‘प्रायः निर्देशकले नै पात्रलाई तयार गर्नुहुन्छ । मसँग केही उदाहरण भएकाले मैले प्रयोग गर्ने अनुमति मागे र पाए पनि । यस्ता चलचित्रले अप्ठ्यारो स्थितिमा पनि संयमता गुमाउनु हुँदैन भन्ने सन्देश दिन्छ । यो हाम्रै समाजमा घटिरहने एउटा कथा हो’ अभिनेता सापकोटाले भने । 

कुमार भास्करको निर्देशन रहेको चलचित्रमा अभिनेता सापकोटासँगै ऋचा शर्मा, रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदीक्षा गौतम, निर्भीक भट्टराई, सागर भट्टराई, सन्दिप लोहनीलगायत कलाकारले अभिनय गरेका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्