
लुम्बिनी र बागमतीपछि नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनमा पनि अध्यक्षका लागि प्रतिस्पर्धा हुने देखिएको छ ।
अधिवेशन उद्घाटन गर्न सुर्खेत पुगेका अध्यक्ष केपी शर्मा ओलीले मीनबहादुर शाहीलाई सर्वसम्मत अध्यक्ष बनाउन दबाब दिएका थिए ।
तर, कुनै समय ओलीनिकट रहेका नेता यामलाल कँडेलले केन्द्रको दबाब र प्रभाव नसहने भन्दै गुलाबजंग शाहलाई अध्यक्षमा अगाडि सार्ने भएका छन्
कँडेल यसअघि कर्णालीको एमाले इन्चार्ज बनाइएका थिए । तर, लेखराज भट्टलाई इन्चार्ज बनाएर कर्णाली पठाएपछि कँडेल असन्तुष्ट छन् । उनलाई दैलेख जिल्लाको इन्चार्ज बनाइएको छ ।
आफूलाई कर्णालीको इन्चार्ज नबनाइएदेखि नै कँडेल ओलीसँग असन्तुष्ट रहेको बताइन्छ । यसैले ओलीले शाहीका नाममा समर्थन गर्न दबाब दिए पनि कँडेलले शाहलाई अगाडि सार्ने तयारी गरेका हुन् ।
वरीयताका हिसाबले पनि गुलाबजंग पोलिटब्यूरो सदस्य हुन् । तर, शाही प्रदेश कमिटी सदस्य मात्रै हुन् । शुक्रवार कर्णालीमा उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम छ ।
नेता कँडेल नेताहरूले सहमतिका लागि प्रयत्न गर्ने तर एकभन्दा बढी उम्मेदवार देखिए स्वाभाविक हिसाबमा चुनाव हुने बताउँछन् ।
‘हामी सकेसम्म सहमतिका लागि प्रयत्न गर्छौं । एमालेमा समूहगत प्रतिस्पर्धा छैन । अध्यक्ष ओलीको बाहेक अर्को लाइन एमालेमा अहिले छैन,’ कँडेल भन्छन्, ‘एकभन्दा बढी उम्मेदवार भए भने उनीहरूबीच स्वाभाविक प्रतिस्पर्धा हुन्छ । यसलाई यो पक्ष त्यो भन्न जरुरी छैन । यो प्रक्रिया मात्रै हो ।’
उनले आफ्नो नाममा समूह नभएको र सबैको साझा नेता भएको दाबी पनि गरे । तर, केन्द्रीय अध्यक्षले नै सर्वसम्मत रूपमा उम्मेदवार चयन गर्न दबाब बढाएपछि कर्णाली प्रदेशका एमाले नेताहरू असन्तुष्ट रहेको बताइन्छ ।
प्रदेश अध्यक्ष विनोदुकमार शाह र गोरखबहादुर बोगटीले पनि मीनबहादुरलाई नै साथ दिएको बताइन्छ । केन्द्रीय सदस्य बोगटीले बन्दसत्रपछि नेतृत्व चयनको प्रक्रियामा छलफल हुने जानकारी दिए ।
‘हाम्रो बन्दसत्र बिहीवार साँझबाट शुरू हुन्छ । यसमा छलफल र प्रतिवेदन पारित भएपछि बल्ल नेतृत्व चयनको प्रक्रियामा प्रवेश गर्छौं,’ बोगटीले भने, ‘अहिले नै समूह र कसको उम्मेदवारी भन्ने टुंगो लागेको छैन, विस्तारै लाग्दै जान्छ ।’
तपाईंहरूको समर्थन कसलाई भन्ने जिज्ञासा राख्दा उनले केही खुलाउन चाहेनन् । उपाध्यक्ष, सचिव र सहसचिवमा पनि पनि दुवैले प्यानलगत उम्मेदवारी दिने तयारी गरेका छन् ।
उपाध्यक्षमा गुलाबजंगका तर्फबाट टेकराज पछाई र सचिवमा ध्रुव शाहीको चर्चा छ । त्यस्तै शाही प्यानलबाट उपाध्यक्षमा लालबहादुर महतरा र सचिवमा रुद्र शाहीको नाममा चर्चा भइरहेको छ ।
एमाले प्रदेश अधिवेशनअन्तर्गत लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल निकटका राधाकृष्ण कँडेल २ मतले विजयी हुँदा केपी ओली–शंकर पोखरेल प्यानलका हरि रिजाल पराजित भएका थिए ।
त्यस्तै, सहमतिको प्रयास भए पनि बागमती एमाले प्रदेश कमिटीको नेतृत्वका लागि पनि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।
पार्टी नेतृत्वले सर्वसम्मत नेतृत्व चयन गर्न भन्दै दबाब बढाए पनि अन्ततः चुनाव नै हुने स्थिति देखिएको हो । लुम्बिनीपछि बागमती र कर्णाली हुँदै अरू प्रदेश अधिवेशनमा पनि निर्वाचनबाटै नेतृत्व चयनका लागि एमालेमा दबाब बढ्ने देखिएको छ ।
एमाले केन्द्रीय सदस्य (सुर्खेत) मोहनमाया ढकाल (भण्डारी) अधिवेशनमा धेरै नेतामा नेतृत्वमा पुग्ने महत्त्वाकांक्षा हुनुलाई अन्यथा लिन नहुने बताउँछिन् ।
‘अधिवेशनमा धेरैलाई नेतृत्वमा पुग्छु भन्ने महत्त्वाकांक्षा हुनु स्वाभाविक हो । नेतृत्वमा आकांक्षा राख्दैमा गलत भन्ने हुँदैन,’ उनले लोकान्तरसँग भनिन्, ‘हामी बन्दसत्रकै क्रममा छौं । सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने भन्ने नै हो । नभए लोकतान्त्रिक विधिको निर्वाचन हुनु स्वाभाविक हो ।’
चर्चामा रहेकै उम्मेदवारबीच सके सहमति, नभए प्रतिस्पर्धामा जाने उनी बताउँछिन् ।
एमाले नेता धर्मराज रेग्मी अध्यक्ष केपी ओलीले सहमतिमा अघि बढ्न भने पनि कुनै उम्मेदवारको नाम लिएर दबाब नदिएको बताउँछन् ।
‘अध्यक्षले सकेसम्म सहमतिमा अघि बढ्नुस् भन्नु स्वाभाविक हो,’ उनले भने, ‘सकेसम्म सहमति नै होइन, नभए अधिवेशनमा चुनाव हुने कुरालाई सबैले स्वाभाविक रूपमा लिनुपर्छ ।’