
सभामुख देवराज घिमिरेले सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न नहुने बताएका छन् ।
सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलन तथा महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
सूचनाको हकको संरक्षणका लागि संविधानमा मौलिक हकका रुपमा राखिएको विषयलाई नियन्त्रण गरेर अपारदर्शीरुपमा शासन पद्धति सञ्चालनको ध्येय राखिएमा त्यो सफल नहुने उनको भनाइ छ ।
“सूचनाको हक लोकतन्त्रको अभिन्न अङ्ग हो । यसको प्रभावकारी कार्यान्वयनका लागि सरकार, नागरिक समाज र सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ । यसलाई नियन्त्रण गर्ने सोच सफल हुन सक्दैछ”, सभामुख घिमिरेले भने, “गोप्य राख्नुपर्नेबाहेकका सूचना राज्यका सम्बन्धित निकायबाट प्रवाह हुनुपर्छ । यसको दुरुपयोग हुनबाट पनि जोगिनुपर्छ ।”
संविधानले परिकल्पना गरेको सूचनामा आधारित जनताको सहभागितामूलक पारदर्शी शासन पद्धतिबाट जनतालाई सेवासुविधा दिन उनले आग्रह गरेका छन् ।