
विराटनगर महानगरपालिका–२ सोमबारेमा राष्ट्रिय विभूति योगमायाको अर्धकदको शालिक अनावरण गरिएको छ ।
विराटनगर महानगरपालिकाकी कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीले शालिक अनावरण गर्दै राणा शासनकालमा देशमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार, जातीय भेद्भाव, छुवाछुत, नारीमाथि गरिने अन्याय, शोषण, सामन्तवाद, सतीप्रथा जस्ता विकृति र विसङ्गति विरुद्ध आवाज उठाउने योगमायाको योगदान महत्त्वपूर्ण रहेको बताइन्।
उनले भनिन्, “योगमायाले परिकल्पना गरेको समाज अझै निर्माण हुन सकेको छैन, हामी सबै मिलेर उनले सोचेको र परिकल्पना गरेको समाज निर्माण गर्न जरुरी छ ।” कार्यक्रममा वडा नं १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ११ का तिर्थेन्द्र न्यौपाने, प्राध्यापक कविराज न्यौपाने, समाजसेवी सुरेशकुमार श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
विसं १९९८ असार २१ गते हरिशयनी एकादशीका दिन सामाजिक अभियन्ता योगमायासहित ६८ नारीले अरुण नदीमा जल समाधि लिएका थिए ।