
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा एमालेको बाग्मती प्रदेश अधिवेशन गत सोमबारदेखि जारी छ । गत सोमबार अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको भृकुटीमण्डपमा अधिवेशनको उद्घाटन गरेका थिए ।
त्यसपछि कमलादीस्थित प्रज्ञा भवनमा बन्द सत्र भएको थियो । त्यसयता नेतृत्व चयनका लागि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा रस्साकस्सी चलिरहेको छ । तर, चौथो दिनसम्म पनि न सहमति हुन सकेको छ न निर्वाचन नै शुरू भएको छ । केबल निर्वाचन तालिका फेरबदल गर्ने काम भइरहेको छ ।
एमालेमा सर्वसम्मति गर्ने नाममा चुनावी कार्यक्रम फेरबदल भइरहेको हो । जसका कारण नेतृत्व चयनमै महाभारत भइरहेको नेताहरु बताउँछन् । लुम्बिनी प्रदेशमा पनि यसअघि निकै सस्साकस्सीका साथ नेतृत्व चयन भएको थियो । यस्तै कर्णाली र कोशी पनि अहिले नै देखि नेतृत्वका लागि रस्साकस्सी भइसकेको छ । केन्द्रीय नेतृत्वले सहमतिमा जोड दिने आकांक्षीहरु नमिल्दा निर्वाचन प्रक्रियामा नै गलफती भइरहेको बताइएको छ ।
००००
एमाले बागमतीमा तीन सदस्य निर्विरोध निर्वाचित भएका छन् । २४५ पदका लागि निर्वाचन हुँदै गर्दा मजदुर क्लस्टरतर्फ तीन सदस्य निर्विरोध भएका हुन् । यो पदमा एकभन्दा बढीको उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध भएका हुन् ।
यसरी निर्विरोध हुनेमा जिफन्ट बागमती प्रदेश उपाध्यक्षमा अर्जुन अर्याल (मकवानपुर), जिफन्ट राष्ट्रिय कमिटी सचिवमा तारानिधि पन्त (काभ्रे) छन् । त्यस्तै जिफन्ट पूर्व उपमहासचिव गीता कार्की (मकवानपुर) छन् ।
००००
सरकारले माइतीघरमा आदोलनरत राहत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार आधिकारिक पत्र पठाएपछि शुक्रबार औपचारिक वार्ता हुन लागेको बताइएको छ ।
शिक्षामन्त्री अशोककुमार राईसहित आन्दोलनरत राहत शिक्षक र बालविकास शिक्षक प्रतिनिधिबिच सिंहदरबारमा अनौचारिक संवाद भएपछि शुक्रबार वार्ता हुने छ । राहत, अनुदान शिक्षक र बालविकास शिक्षकबिच छलफल भएपछि वार्तामा बस्न आधिकारिक रूपमा पत्र पठाइएको शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्सालले बताए । यसअघि शिक्षक महासंघसँग सरकारको ६ बुँदे सहमति भएपनि राहत शिक्षकलगायतले सहमति मानेका थिएनन् ।
००००
नेपालबाट इजरायलमा सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार पठाउन सरकारले तयारी थालेको छ ।
इजरायलबाट दोस्रो चरणमा सहायक कामदार माग गरिएकाले सहायक कामदार पठाउन तयारी थालिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव डण्डुराज घिमिरेले जानकारी दिए । उनका अनुसार इजरायलमा सहायक कामदारको रूपमा पाँच सय जना नेपालीलाई लैजाने इच्छा देखाएको छ ।
००००
गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गएरातिदेखि चालु अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
००००
कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सासबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको पूर्वस्वीकृति लिन सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकमा उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन, २०८० सार्वजनिकीकरण गर्ने, कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चित कोषमा दाखिला गर्ने व्यवस्थाका लागि नेपाल सरकार, अर्थमन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।
००००
प्रधानसेनापति प्रभुराम शर्मा पाँच दिवसीय भारत भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोजप्रताप राणाले स्वागत गरे ।
नयाँ दिल्लीमा भारतीय सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा सम्पन्न तेह्रौँ संस्करणको इण्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनलगायत कार्यक्रममा भाग लिने सिलसिलामा असोज ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
००००
जनमत पार्टीले आगामी दिनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने नीति लिएको छ । सङ्घीय सरकार र प्रदेश सरकारमा सहभागी सो पार्टीले तत्काल कुनै पनि पार्टीसँग एकीकरण पनि नगर्ने भएको छ ।
००००
नेकपा माओवादी केन्द्रले सङ्घीय संसद्मा पेस भएको सङ्घीय शिक्षा विधेयकका सम्बन्धमा देखिएको असन्तुष्टिलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले वार्ता र संवादका माध्यमबाट शिक्षा विधेयकमा व्यक्त भएको असन्तुष्टिलाई सम्बोधन गरेर जानुपर्ने निष्कर्ष निकालेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
००००
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान गरेका छन् ।
पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज कतारले आयोजना गरेको विविध कार्यक्रममा सहभागी हुन उनी गएराति दोहा प्रस्थान गरेको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
००००
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव सी)का छोरा प्रकाश विवाह बन्धनमा बाँधिएका छन् ।
पार्टीको अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव समेत रहेका प्रकाशले अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य डा मान्यता सीसँग विवाह गरेका हुन् ।
००००
नेपाल प्रहरीले दोलखाको सिंगटीबाट ४ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, दोलाखाका प्रमुख डीएसपी दीपक खड्काका अनुसार सुनजस्तो देखिने चार थान बिस्कुट बरामद गरिएको हो ।