
चर्चित अमेरिकन रेष्टुरेन्ट ब्रान्ड 'केन्नी रोजर्स रोस्टर्स' (केआरआर) नेपाल भित्रिएको छ । काठमाडौंको भीआईपी व्यापारिक क्षेत्रका रूपमा परिचित दरबारमार्गको ‘दरबार मल’मा केन्नी रोजर्स रोस्टर्सको आउटलेट सञ्चालनमा आएको हो ।
गुल्मेली दुई युवा व्यवसायी चन्द्रबहादुर थापा र लोकेन्दर महतराले अमेरिकन रेष्टुरेन्ट ब्रान्डलाई नेपाल भित्र्याएका हुन् । गुण ग्रुपले सञ्चालन गरेको दरबार मलको दोस्रो तलामा रेष्टुरेन्ट छ, जहाँबाट दरबारमार्गका गतिविधिसमेत नियाल्न सकिन्छ ।
केन्नी रोजर्सको स्टान्डर्डमा रेष्टुरेन्ट सञ्चालनमा ल्याउन करिब तीन करोड रूपैयाँ लगानी लागेको सञ्चालक थापाले बताए । रेष्टुरेन्ट दुई हजार वर्गफिट क्षेत्रफलमा फैलिएको छ, जहाँ एकैपटक ७० जनासम्मले सेवा पाउन सक्छन् ।

‘वुडन आर्किटेक’ डिजाइनमा तयार पारिएको रेष्टुरेन्टमा पुग्ने ग्राहकहरूले परम्परागत मौलिक र आधुनिक शैलीको फ्युजन महशुस गर्न सक्नेछन् । वुडन थिमले रेष्टुरेन्टलाई थप आकर्षक बनाएको छ ।
चर्चित अमेरिकी गायक केन्नी रोजर्स र केन्टकी फ्राइड चिकेन (केएफसी)का पूर्वसीईओ तथा अमेरिकाको केन्टकी राज्यका पूर्वगभर्नर जोन वाइ व्राउन (जुनियर) ले सन् सन् १९९१ मा केन्नी रोजर्स रोस्टर्स रेष्टुरेन्ट सञ्चालनमा ल्याएका थिए ।
जुन कालन्तरमा संसार फैलिएको छ । अहिले केन्नी रोजर्स रोस्टर्सले एसिया प्यासिफिक क्षेत्रमा आक्रामक रूपमा आउटलेट विस्तार गरिरहेको छ ।
केन्नी रोजर्स रोस्टर्स नेपालमा पहिलो पटक भित्रिएको हो । ‘विदेशमा ठूला जहाजमा म्यानेजरको काम गर्दा केन्नी रोजर्स रेष्टुरेन्टमा खाना खाइन्थ्यो, यो रेष्टुरेन्टले फरक स्वादमा स्वस्थ्य परिकारहरु पस्कने थाहा पाइयो’ रेष्टुरेन्टका अर्का सञ्चालक महतराले भने, ‘नेपालमा स्वादिला परिकार खोज्दै रेष्टुरेन्ट धाउनेहरू बढ्दै छन्, त्यसैले हामीले नयाँ स्वाद पस्किन अमेरिकी ब्रान्डलाई नेपाल भित्र्याएका हौं ।’
केन्नी रोजर्स रोस्टर्सको मुख्य डिस भनेकै चिकेनका आइटम हुन् । रेष्टुरेन्टमा चिकनका परिकार बनाउन फ्रान्स र जर्मनीबाट आधुनिक मेसिन ल्याएको महतराले बताए । रेष्टुरेन्टका मुख्य परिकारमा तेल नहाली पकाइने मेसिन रोस्टेड होल चिकन, फ्राइड र अनफ्राइड (ओएमजी) चिकन, पिज्जा स्वादको स्यान्डविच, फिस वर्गरलगायत रहेका छन् ।
सञ्चालक महतारासँग ५ वर्ष विश्वकै चर्चित ताज मुम्बईमा सेफको काम गरेको अनुभव छ । उनले दशकभन्दा बढी समय मलेसिया, इन्डोनेसिया, सिंगापुर, म्यानमार, भियतनाम, थाइल्यान्ड लगायत देशमा बसेर अन्तर्राष्ट्रिय परिवहन गर्ने ठूला जहाजमा मुख्य सेफ भएर अनुभव हासिल गरेका छन् ।
‘करिब २० वर्ष विदेशमा हासिल गरेको सीप र अनुभवलाई प्रयोग गरी देशमै केही गरौं भन्ने मनसायले स्वदेश फर्किएको हुँ,’ महतराले भने, ‘आफ्नो अनुभव फुड एन्ड वेभरेजमा थियो, त्यसैले अमेरिकी चेन रेष्टुरेन्ट केन्नी रोजर्स रोस्टर्ससँग फ्रेञ्चाइजी मोडलमा काठमाडौंमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हौं ।’ केन्नी रोजर्स रोस्टर्सले पस्किने स्वाद नेपालीले रुचाउने ठानेर नेपालमा ल्याएको उनको भनाई छ । दरबारमार्गमा पाक्ने र अमेरिका वा थाइल्यान्डको आउटलेटमा पाक्ने परिकारको गुणस्तर र स्वाद एउटै हुने छ ।
‘हामी गुणस्तरमा कहिल्यै सम्झौता गर्दैनौं, स्वस्थ र स्वादिला परिकार पस्कने छौं’ महतराले भने, ‘हाम्रा ग्राहकलाई पारिवारिक वातावरणमा सेवा दिने प्रतिवद्धता जनाउँछौं ।’