२३ असार २०८३, मंगलबार

गीति नाटकसहित ‘परदेशी-२’ को प्रचार

असोज १३, २०८०
काठमाडौं
गीति नाटकसहित ‘परदेशी-२’ को प्रचार

परदेशिएका नेपालीको कथामा आधारित फिल्म ‘परदेशी २’ यही असोज २६ गतेदेखि प्रदर्शनमा आउँदैछ । कलाकारसहित निर्माण टिम अहिले फिल्मको प्रचारका लागि देश दौडाहामा निस्केको छ । 

फिल्मको कथालाई लिएर बनाइएको गीतिनाटक ‘बिदाइ’को मञ्चनसहित फिल्मको प्रचारात्मक कार्यक्रम भइरहेको फिल्मका निर्देशक नारायण रायमाझीले बताए । विद्यालय र कलेजमा गीति नाटक देखाउने गरिएको उनको भनाइ छ ।

फिल्मको निर्माण टिमले बिहीबार र शुक्रबार पोखराका विभिन्न विद्यालय र कलेजमा नाटक मञ्चनसहित फिल्मबारे जानकारी गराएको थियो । फिल्मका अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारी पनि फिल्म प्रवर्द्धनमा सक्रिय छन् । सपूत अध्ययनका लागि विदेशिएको युवाको भूमिका फिल्ममा देखिँदै छन् । 

नारायणगढ, नेपालगञ्ज र बुटवलमा प्रचारात्मक कार्यक्रम भइसकेको निर्देशक रायमाझीले बताए । पोखरापछि पूर्वी नेपालका विभिन्न सहरमा फिल्मको टिम पुग्ने जनाइएको छ । बडादसैँको छेकोमा प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’ सपूत अभिनित पहिलो फिल्म हो । 

गायन करिअरको शिखरमा रहेकै बेला सपूत ‘परदेशी २’बाट नायकका रुपमा उदाउँदै छन्। अभिनेत्री अधिकारीको अभिनय यात्रामा भने यो ३३औँ फिल्म हो । पहिलोपल्ट ‘हिरो’ का रूपमा ठूलो पर्दामा आउँदा दङ्ग र उत्साहित रहेको सपूतले बताए ।

'नायकका रूपमा यो मेरो परीक्षा हो, शुरूमै ब्राण्ड ब्यानर र सफल फिल्मको सिक्वेलमा अभिनय गर्न पाउनु आफैमा सुखद् कुरा हो,' उनले भने, 'अहिले फिल्मको प्रचारका क्रममा दर्शकहरू भेटिरहेका छौँ, राम्रो प्रतिक्रिया आइरहेको छ ।' 

विद्यालय र कलेज केन्द्रित प्रवर्द्धनको कार्यक्रमले नयाँ पुस्तालाई फिल्मप्रति अभिरुचि जगाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे । नायिका केकी अधिकारीले मौलिक कथामा राम्रो फिल्म बनेको बताइन् । आफ्नो फिल्म करिअरमा ‘परेदशी २’ले विशेष अर्थ राख्ने उनले उल्लेख गरिन्। 

'परदेशी २ नेपाली परिवेश र जनजीवनको कथा हो, फिल्म राम्रो बनेको छ, दर्शकको साथ पाउनेमा हामी ढुक्क छौँ,' उनले भनिन् ।

शुक्रबार नायक सपूतको गृहजिल्ला बागलुङमा ‘परदेशी २’को प्रिमियर शोसमेत राखिएको थियो । जिल्लावासीले बाजागाजासहित उनीलगायत फिल्मका कलाकारलाई विशेष स्वागत गरेका थिए । 

उनले ‘परदेशी २’ को प्रर्दशनपछि मात्र फिल्म निर्देशन र अभिनयमा विषयमा थप निर्णय लिने बताए। सपूतले यसअघि आफ्नै कथा र निर्देशनमा फिल्म बनाउने सङ्केत गरेका थिए । उनका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’लगायत गीत चर्चित छन् । 

गायकका रूपमा ख्याती आर्जन गरेका सपूतलाई फिल्म फाप्छ या फाप्दैन त्यो त हेर्न बाँकी नै छ । रायमाझीको निर्माण तथा निर्देशनमा यसअघि बनेको फिल्म ‘परदेशी’ व्यावसायिकरूपमा सफल भएको थियो । सोही फिल्मको सिक्वेलका रुपमा ‘परदेशी २’ निर्माण गरिएको हो । 

फिल्ममा सपूत र अधिकारीसँगै वर्षा सिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलियालगायत कलाकारको अभिनय रहेको छ । 

नारायण रायमाझी र राजेश वंशलको संयुक्त निर्माण रहेको फिल्मका नेपालसहित भारत र अमेरिकामा छायाँकन गरिएको जनाइएको छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्