१० साउन २०८३, आइतबार

कोशी प्रदेशमा ओली निकटकै नेताले बनाए प्यानल

जिल्ला अध्यक्षदेखि प्रभावशाली नेतालाई एसएमएस
असोज १३, २०८०
विराटनगर
कोशी प्रदेशमा ओली निकटकै नेताले बनाए प्यानल

 नेकपा एमाले कोशी प्रदेश कमिटीको निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीको निर्देशन विपरीत प्यानल बनेको छ । ओलीले प्यानल बनाउन निर्देशन दिए पनि त्यसविपरीत उनी निकटकै नेताले प्यानल बनाएका हुन् । 

ओलीले ग्रिन सिग्नल दिएका अध्यक्षका उम्मेदवार घनश्याम खतिवडा समूहले प्रतिनिधिहरूलाई एसएमएसमार्फत भोट हाल्ने उम्मेदवारको नाम नै पठाएको छ । खतिवडाको प्यानलको उपाध्यक्षमा टिकाराम चेम्जोङ छन् । यस अगाडि पनि चेम्जोङ उपाध्यक्ष नै थिए । 

यसैगरी सचिवमा राजकुमार भण्डारीलाई उनले प्यानलमा अगाडि सारेको छन् भने उपसचिवमा गौरादह नगरपालिकाकी उपप्रमुख जल वर्षा राजवंशी र खोटाङका देवान थेबे खतिवडाको नाम  छ । 

खतिवडा समूहले आफ्नो प्यानलमा यी उम्मेदवार रहेको भन्दै भोट हाल्न आग्रह गर्दै जिल्ला अध्यक्ष तथा त्यस क्षेत्रका प्रभावशाली एक नेताहरूलाई एसएमएस गरेको बताइएको छ । ‘साँझ ५ बजेतिर मोबाइलमा म्यासेज आयो,’ कोशी प्रदेश अन्तरगतको एक जिल्ला अध्यक्षले लोकान्तरसँग भने । वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेललगायत संलग्नतमा प्यानल टुङ्ग्याएको एक केन्द्रीय सदस्यले बताए ।  अधिवेशन  सुरु हुनुभन्दा दुई दिन अगाडिदेखि उपाध्यक्ष ईश्वर पोख्रेल विराटनगर मै छन् । 

यसैबीच अर्का अध्यक्षका प्रत्याशी विनोद ढकालको प्यानलमा पनि उपाध्यक्ष भने टिकाराम चेम्जोङ नै छन् । उपाध्यक्षमा चेम्जोङको मात्रै उम्मेदवारी परेपछि  उनी निर्विरोध निर्वाचित हुने भएका छन् । उपसचिवमा मोरङकै खेम नेपाली र संखुवासभाका भगिश्वर गुरुङ रहेका छन् । यस्तै सचिवमा शैलेश लामाको उम्मेदवारी छ ।

 संस्थापन पक्षले म्यासेज पठाएपछि इतरहरूले पनि समूह निर्माण गरेको ढकाल निकट नेताले बताए । कोशी प्रदेशको निर्वाचनबाट पाँच पदाधिकारी सहित २१५ सदस्यीय  कमिटी चयन हुने छ । 

प्रदेश कमिटी चयनका लागि  आइतबार बिहान ११ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका छ । अधिवेशन अवधिमा केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज रघुवीर महासेठ सहित स्थायी कमिटी सदस्यहरू शेरधन राई, मुख्यमन्त्रीसमेत रहेका हिक्मतकुमार कार्की, अग्नि खरेल, डा शिवमाया तुम्बाहाम्फे र राजेन्द्र गौतम समेत विराटनगरमै छन । यस्तै केन्द्रीय सदस्य भगवती चौधरी, जगदीश कुसियैत, रामराना मगर, पर्शुराम मेघी गुरुङ र सुनीता बराल पनि विराटनगरमै रहेको नेताहरूले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्