२६ जेठ २०८३, मंगलबार

एक लाख आदिवासी आर्मेनियाली पलायन

असोज १४, २०८०
काठमाडौं
एक लाख आदिवासी आर्मेनियाली पलायन

अर्मेनियाका अनुसार नागोर्नो–काराबाख क्षेत्रबाट एक लाखभन्दा बढी आदिवासी आर्मेनियाली पलायन भएका छन् । 

गत साता अजरबैजानले कब्जा जमाएपछि आदिवासी आर्मेनियाली आफ्नो बहुलता भएको स्थानबाट पलायन भएको काराबाख क्षेत्रका पूर्वअभियन्ताहरूले बताएका छन् । 

अजरबैजानले उक्त क्षेत्रलाई पुनः एकीकरण गर्न र त्यहाँका बासिन्दालाई समान व्यवहार गर्न चाहेको बताएको छ तर अर्मेनियाली प्रवक्ताले त्यो भनाइ केवल ‘झूट’ भएको टिप्पणी गरेका छन् । 

अर्मेनियाका प्रधानमन्त्रीका प्रवक्ता नाजेली बग्दासर्यानले नागोर्नो–काराबाखको अनुमानित एक लाख २० हजार जनसङ्ख्यामध्ये एक लाख चार सय १७ जना पलायन भएका बताएका छन् । 

शरणार्थीसम्बन्धी  संयुक्त राष्ट्रसङ्घीय निकाय युएनएचसीआरले पनि  एक लाख आदिवासी आर्मेनियाली पलायन भएको जनाउँदै उनीहरूलाई  तत्काल मानवीय सहायता आवश्यक परेको बताएको छ । 

नागोर्नो–काराबाख क्षेत्रको धरातलीय यथार्थबारे जानकारी लिन तथा त्यहाँको वस्तुस्थिति मूल्याङ्कन गर्न राष्ट्रसङ्घीय टोली आइतबारसम्ममा त्यहाँ पुग्ने बताइएको छ । 

आर्मेनियाका पूर्वपृथकतावादी नेता आर्टक बेग्लरियानले नागोर्नो–काराबाखका बासिन्दाको अन्तिम समूह शनिबार आर्मेनियातर्फ लागेको बताएका छन् । 

अजरबैजानी सैन्य कारबाहीका क्रममा मारिएका बाहेक सोमबार नागोर्नो–काराबाखमा इन्धन डिपोमा भएको भीषण विस्फोटमा कम्तीमा एक सय ७० जनाको मृत्यु भएको थियो । अर्मेनियालीहरूद्वारा स्टेपानाकर्ट भनेर चिनिने खानकेन्डी नजिकै विस्फोटको कारण  अझै स्पष्ट भइसकेको छैन । 

गत बिहीबार अजरवैजानले  नागोर्नो काराबाख क्षेत्र आफ्नो अधिनमा आएको बताएसँगै स्वघोषित स्तन्त्रताको तीन दशक लामो रक्तपातपूर्ण द्वन्द्व अन्त्यसँगै अब त्यसको अस्तित्वसमेत समाप्त भएको घोषणा भएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्