
राप्रपा नेपालले आज (आइतबार) पर्साको विरगंजमा सभा गर्ने भएको छ । घण्टाघर नजिकको खुल्ला स्थानमा आयोजना गरिने सभाको सम्पूर्ण तयारी सकिएको पार्टीका वरिष्ठ उपाध्यक्ष राजिव पराजुलीले जानकारी दिए ।
पराजुलीका अनुसार सभा काठमाडौंको विरोध प्रदर्शनको निरन्तरता हो । 'हामी भ्रष्ट व्यवस्थाको अन्त्यको लागि देशका विभिन्न भागमा यसैगरी विरोध प्रदर्शन र सभाहरू गर्दै आन्दोलनको वातावरण तयार गर्नेछौं,' उनले भने, 'अब राप्रपा नेपाल सडक केन्द्रित गतिविधिमा क्रियाशील हुन्छ।'
राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश सिंहले सभामा उल्लेख्य जनसहभागिता गराउन व्यापक जनपरिचालन गरिएको बताए । सभालाई पार्टी अध्यक्ष कमल थापा, नेताहरू राजिव पराजुली, तारानाथ लुईटेल, वरिष्ठ अधिबक्ता विष्णु भट्टराई, राजाराम बर्तौलालगायत नेताहरूले सम्बोधन गर्ने उनले बताए ।