०९ साउन २०८३, शनिबार

माल्दिभ्सविरुद्ध नेपालको फराकिलो जीत: बोहोरा एक्लैले लिए ६ विकेट

असोज १४, २०८०
काठमाडौं
माल्दिभ्सविरुद्ध नेपालको फराकिलो जीत: बोहोरा एक्लैले लिए ६ विकेट
फाइल तस्वीर

एसियाली खेलकुदअन्तर्गत पुरुषतर्फको क्रिकेटमा नेपालले माल्दिभ्सविरुद्ध अर्को फराकिलो जीत हात पारेको छ । आइतबार बिहान सकिएको खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गरेको हो । 

२१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले १९.४ ओभरमा ७४ रन मात्रै बनाएर सम्पूर्ण १० विकेट गुमाएको हो । 

नेपाललाई फराकिलो जीत दिलाउने क्रममा अविनाश बोहोराले सर्वाधिक ६ विकेट लिए । बोहोराले ३.४ ओभरमा ११ रन दिएर ६ विकेट लिएका हुन् ।
 
सोमपाल कामी, गुल्सन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक/एक विकेट लिए । 

२३ रन जोड्दा नै ६ विकेट गुमाइसकेको माल्दिभ्सका मुआभिएथ ३६ रन बनाएपछि टिमको रनलाई केही माथि बढाएका थिए । तर, अन्तिम ओभरमा अविनाशले ३ विकेट लिएपछि माल्दिभ्स फराकिलो अन्तरले पराजित भएको हो । 

पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट क्षतिमा २१२ रन बनाएको थियो । यस क्रममा कप्तान रोहित पौडेलले २७ बलमा सर्वाधिक ५२, कुशल मल्लले २७ बलमा नटआउट ४७, गुल्सन झा र कुशल भुर्तेलले समान ३५/३५ रन बनाए । 

कीर्तिमान नै कीर्तिमानले भरिएको खेलमा खेलमा नेपालले मंगोलियालाई २७३ रनको विशाल अन्तरले पराजित गरेको थियो । 

यस क्रममा सबैभन्दा छिटो शतक, अर्धशतक, टी–२० सर्वाधिक योगफल जस्ता रेकर्ड नेपालले हासिल गरेको थियो । जीतसँगै नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमवार क्वार्टरफाइनलको ड्र हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्