
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठन गर्नेबारे सत्तारूढ दलसँग भदौ ५ गते भएको सहमति कार्यान्वयनको ताकेता शुरू गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आइतवार बालुवाटारमा भेटेर आयोग गठन गर्ने सहमति कार्यान्वयन गर्न माग गरेका हुन् ।
एमालेले सुन तस्करी छानबिनसम्बन्धी आयोग गठन नभए फेरि संसदमा अवरोध गर्नुपर्ने अवस्था आउने चेतावनी दिएको छ ।
दुईहप्ताभन्दा लामो अन्तरलपछि प्रतिनिधि सभाको बैठक आइतवारका लागि राखिएको छ । ‘सुन तस्करीको छानविनका लागि आयोग गठन गर्न माग गर्दै संसद अवरोध गरेका थियौं, सीआइबीले प्रतिवेदन बुझाएपछि असोज ६ गते आयोग गठन गर्ने मिति किटान भएको थियो’ एमालेका एक प्रभावशाली नेताले लोकान्तरसँग भने, ‘सहमति कार्यान्वयन नभए संसद अवरोध गर्न बाध्य हुन्छौ ।’
प्रधानमन्त्री चीन भ्रमणमा रहेको समयमा भदौ ५ गते एमाले नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर आयोग गठनको सहमति कार्यान्वयन गर्न माग गरेका थिए ।
तर, प्रधानमन्त्री देशबाहिर रहेको भन्दै सरकारले आयोग गठन गर्न नसकिएको एमालेलाई जानकारी गराएको थियो ।
विमानस्थल भन्सार बाहिरबाट समातिएको झण्डै ६१ केजी तथा विद्युतीय चुरोट भेप्समार्फत् तस्करी भएको ९ किलो सुन सम्बन्धमा छानबिनको माग गर्दै एमालेले संसद् अवरोध गरेको थियो ।
शुरूमा आयोग गठनप्रति सहमत नभएको सरकारले संसद् अवरोध खोल्न आयोग गठन गर्न राजी भएको थियो ।
महंगीलगायत जनजीविकाको विषयमा पनि प्रधानमन्त्री स्वदेश फर्केपछि ध्यानाकर्षण गराउने ओलीले बताएका थिए । प्रधानमन्त्री प्रचण्ड हिजो मात्र स्वदेश फर्केका थिए ।