
पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपालको संविधान संविधान दक्षिण एसियाकै उत्कृष्ट रहेको दाबी गरेका छन् ।
नवलपरासीको प्रतापपुर गाउँपालिका–७ सूर्यपुरामा निर्माण गरिएको बीपी कोइरालाको शालिक अनावरण गर्न सोमवार त्यहाँ पुगेका पूर्वराष्ट्रपति यादवले यस्तो दाबी गरेका हुन् ।
सो अवसरमा उनले संविधानमा सबैका अधिकारलाई समेटेको बताउँदै लामो संघर्षपछि बनेको संविधान कार्यान्वयनका लागि जनताले झक्झकाउनु पर्ने उल्लेख गरे ।
प्रतापपुर गाउँपालिकाको सहयोगमा निर्माण भएको बीपी कोइरालाको अर्धकदको शालिक अनावरण गर्दै यादवले राजनीतिक परिवर्तनसँगै बनेको संविधानले प्रजातान्त्रिक अधिकार दिएको दाबी गरे । उनले अबको परिवर्तन आर्थिक परिवर्तन भएको पनि बताए । बीपीले परिकल्पना गरेको जस्तैगरी बनेको संविधानले पछाडि पारिएका मधेशी, दलित, महिला, मुस्लिमलगायतका सबै धर्म र समुदायको अधिकारलाई सुनिश्चित गरेको उल्लेख गरे ।
‘संविधानले सबै जातजाति, धर्म समुदायका अधिकारलाई समेटेको छ, तर कार्यान्वयन नहुँदा अधिकार छैन जस्तो देखिएको छ, त्यसका लागि चुनावको समयमा सही प्रतिनिधिलाई छनोट गरेर पठाउनुस् र कार्यान्वयनका लागि दबाब दिनुस्,’ उनले भने । अधिकार पाएनाँै भन्नेका लागि संविधानका धारा–धारा पल्टाएर पढ्न पनि उनले सुझाव दिए ।
‘संविधान पढ्दैनन्, अधिकार पाएनौं मात्र भन्छन्, समाज परिवर्तनसँगै संविधान पनि समयानुकूल परिवर्तन हुन्छ, समयअनुसार समेट्नुपर्ने अधिकारलाई जनप्रतिनिधिमार्फत संसद्मा आवाज उठाउन लगाउनुस् परिवर्तन हुन्छ,’ पूर्वराष्ट्रपति यादवले भने ।