
ढोरपाटन–नेपाल उद्योग वाणिज्य महासंघले वर्तमान आर्थिक संकटको समाधानका लागि सरकार, नेपाल राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहकार्यमा वृहत् राष्ट्रिय विमर्श गरी अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउने निर्णय गरेको छ ।
बागलुङको ढोरपाटनमा सम्पन्न महासंघको कार्यकारिणी समितिको तेस्रो वैठकले सबै पक्ष मिलेर समस्याको समाधान खोज्न आग्रह गर्दै अहिलेको संकटको निकास निकाल्ने गरी यही असोजको अन्तिम साता वृहत् राष्ट्रिय विमर्शको आयोजना गर्ने निर्णय गरेको हो ।
सरकार तथा नियामक निकायले निजी क्षेत्रले उठाएका विषयहरू गम्भीरतापूर्वक नलिने र अर्थतन्त्र तथा व्यवसायका विषय निजी क्षेत्रका मात्र समस्या हुन् भन्ने गरेको महासंघको गुनासो रहेको छ । त्यसैले अहिलेको संकट समाधानका लागि अर्थतन्त्रका सबै सरोकारवालाहरू एक हुनुपर्ने निजी क्षेत्रको धारणा छ ।
कार्यकारिणी समितिको निर्णय सार्वजनिक गर्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल भ्रमण वर्ष २०२५ लाई सफल बनाउनेसहित ४ वटा महत्वपूर्ण निर्णय गरेको जानकारी दिए ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण दशकलाई सफल बनाउने उद्देश्यले निजी क्षेत्रले भ्रमण वर्षभरी महासंघको केन्द्र, प्रदेश र जिल्ला-नगरमा पर्यटन पवद्र्धनसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गर्ने उनको भनाइ थियो । साथै महासंघ तथा यसका सदस्य संघ-संस्थाका लेटरप्याडमा भ्रमण वर्षको लोगो राख्ने उनले जानकारी दिए ।
त्यसैगरी, महासंघले सातवटै प्रदेशमा प्रदेश सरकारसँगको सहकार्यमा लगानी सम्मेलन गर्ने, भारत तथा चीनको लगानी भित्र्याउन केन्द्र सरकारसँगको सहकार्यमा भारत तथा चीन केन्द्रित राष्ट्रियस्तरका सम्मेलनहरू आयोजना गर्ने निर्णय गरेको छ ।
महासंघले ७७ वटै जिल्लाका व्यवसायीको सहभागितामा वृहत् लगानी कम्पनी स्थापना गरी ठूला तथा बहुआयामिक आयोजनामा लगानी गर्ने निर्णय गरेको ढकालले बताए ।
महासंघका सदस्यहरूमा संस्थाप्रति अपनत्वको भावना विकास गर्दै स्थानीय सम्भावनालाई पहिचान गरी लगानी अभिवृद्धि गर्न महासंघले मुलुकभित्रका सम्भावनायुक्त विभिन्न स्थानमा महासंघका बैठक आयोजना गर्न शुरू गरेको छ ।
यसैक्रममा महासंघको कार्यकारिणी समितिको तेस्रो वैठक अध्यक्ष ढकालको गृह जिल्ला बागलुङ जिल्लाको ढोरपाटनमा सोमबार सम्पन्न भएको छ । ढोरपाटन बागलुङ जिल्लाको ऐतिहासिक र पर्यटकीय क्षेत्र हो ।