२९ असार २०८३, सोमबार

गौतमबुद्ध विमानस्थल प्रकरणबारे सांसद घिमिरेको माग– व्यक्तिको नाममा नामसारी गर्ने सबैलाई कारबाही होस्

असोज १६, २०८०
काठमाडौं
गौतमबुद्ध विमानस्थल प्रकरणबारे सांसद घिमिरेको माग– व्यक्तिको नाममा नामसारी गर्ने सबैलाई कारबाही होस्

प्रतिनिधिसभाका सांसद बासुदेव घिमिरेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग समेत पर्ने जमिन व्यक्तिको नाममा नामसारी गर्ने कार्यमा संग्लन सबैलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गरेका छन् । 

मंगलवार संसद् बैठकको विशेष समयमा बोल्दै रुपन्देही– ५ का सांसद घिमिरेले ५८ वर्षअघि हदबन्दीमा परेपछि मन्दिरलाई दिएको जग्गा विमानस्थल बनेर सञ्चालनमा समेत आइसकेपछि व्यक्तिको नाममा सारिनु गम्भीर विषय भएको बताए । 

विमानस्थलको अधिग्रहणमा परेको जमिन व्यक्तिका नाममा लैजाँदा मालपोत कार्यालयले मुआब्जा वितरण समितिका संयोजकसमेत रहने प्रमुख जिल्ला अधिकारी, विमानस्थल आयोजना र नागरिक उड्डयन प्राधिकरणसँग कुनै परामर्श नलिएको पाइएकाले यसमा ठूलो आर्थिक चलखेल भएको हुन सक्ने उनले उल्लेख गरे । 

‘हदबन्दीमा परेको जग्गा फिल्डबुकमा भए पनि कसैको नाममा दर्ता नरहेकोमा भूमाफियाको योजनामा मालपोत कार्यालयले व्यक्तिको नाममा सारिदिएको बुझ्न सकिन्छ,’ सांसद घिमिरेले भने । 

व्यक्तिको नाममा सारिएको सो जग्गा पूर्ववत् अवस्थामा फर्काइ यस्तो चलखेलमा संग्लन सबैलाई कारबाहीको दायरमा ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै सांसद घिमिरेले २०७९ सम्म फिल्डबुकमा कसैको नाममा नरहेको जग्गा एकाएक व्यक्तिको नाममा सारिँदा स्थानीय स्तरमा आक्रोशसमेत बढेको बताए । 

भू–माफिया र मालपोत कार्यालयका कर्मचारीहरूको मिलेमतोमा गौतमबुद्ध विमानस्थलको धावनमार्गसमेत पर्ने ४ बिघा १७ कट्ठा जग्गा गत वैशाखमा व्यक्तिका नाममा सारिएको थियो । 

लालपूर्जा पाएपछि आफ्नो जमिन विमानस्थलले अधिग्रहण गरेको दाबी गर्दै ९ करोडभन्दा बढी मुआब्जाका लागि व्यक्तिको तर्फबाट विमानस्थल आयोजना कार्यालयमा निवेदन परेपछि यो घटना सार्वजनिक भएको हो । मुआब्जा वितरण समितिले सो जग्गाको मुआब्जा दिन नसकिने निर्णय गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्