२५ जेठ २०८३, सोमबार
बझाङमा भूकम्प

बझाङ भूकम्प अपडेटः पुरिएको अवस्थामा एक महिलाको शव भेटियो

असोज १७, २०८०
काठमाडौं
बझाङ भूकम्प अपडेटः पुरिएको अवस्थामा एक महिलाको शव भेटियो

बझाङमा मंगलवार गएको भूकम्पका कारण खसेको पहिरोमा परी बेपत्ता भएकी एक महिलाको शव भेटिएको छ । उनको शव पुरिएको अवस्थामा बुधवार बिहान भेटिएको हो ।  

मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४५ वर्षकी महिला गुनदेवी धामी रहेकी छिन् ।

टिमुर टिप्न गाउँनजिकैको जङ्गलमा गएकी ती महिलाको पहिरोमा पुरिएको अवस्थामा शव भेटिएको स्थानीय पत्रकार नरेन्द्र उपाध्यायले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, बझाङका डीएसपी भरत शाहले लोकान्तरलाई दिएको जानकारी अनुसार शव भेटिएको खबर आएपछि अहिले प्रहरी टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ । उक्त स्थान सदरमुकामबाट ६–७ घण्टाको दूरीमा रहेको छ ।

भूकम्पबाट बझाङमा मात्रै १३ जना घाइते भएका छन् । भूकम्पले सदरमुकाम चैनपुरसहित आसपास गाउँका केही घर, विद्यालय र वडा कार्यालय गरी अहिलेसम्म एक सय ६० भन्दा धेरै भौतिक संरचनामा क्षति पुगेको तथ्याङ्क छ ।

बझाङ केन्द्रविन्दु भएर शुरूमा दिउँसो २ बजेर ४० मिनेट जाँदा ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको २६ मिनेटपछाडि ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

बझाङमा गएको भूकम्पको धक्का काठमाडौंदेखि दिल्लीसम्म महसुस भएको छ । काठमाडौंमा ३ बजेर ८ मिनेट जाँदा धक्का महसुस भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्