२३ जेठ २०८३, शनिबार

बझाङ भूकम्पमा परी घाइते भएकाहरूको प्रदेश सरकारले उपचार गर्ने

असोज १७, २०८०
धनगढी
बझाङ भूकम्पमा परी घाइते भएकाहरूको प्रदेश सरकारले उपचार गर्ने
फाइल फोटो

सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च व्यहोर्ने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय धनगढीमा आज बसेको सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावितको उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावितलाई तत्काल एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने निर्णय भएको छ ।

खोज, उद्धार, राहत वितरण कार्य आन्तरिक मामिला तथा कानून मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको समन्वयमा गर्ने निर्णय भएको मुख्यमन्त्री कमलबहादुर शाहले बताए ।

उनले भूकम्पमा परी घाइते भएकाको उपचारमा कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै घाइतेको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने जानकारी दिए ।

बैठकमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सभामुख, प्रदेशका प्रमुख सचिव, सचिव, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो ।​

मङ्गलवार बझाङमा गएको भूकम्पमा परी जयपृथ्वी नगरपालिकाकी गुनमति धामीको मृत्यु भएको छ । भूकम्पसँगै पहिरो जाँदा बेपत्ता भएकी उनी मृत फेला परेकी थिइन्।​

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, सञ्चार शाखाका अनुसार भूकम्पका कारण बझाङ, अछाम, बैतडी र बाजुरामा गरी २७ जना घाइते भएका छन् ।​

भूकम्पको झट्काका कारण करिब ३२ सरकारी, तीन सय सङ्ख्यामा विद्यालय भवन तथा व्यक्तिगत घरमा क्षति पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्