०८ साउन २०८३, शुक्रबार

इतिहास बिर्सनेप्रति इतिहास नै निर्मम हुन्छ

कात्तिक २०, २०७४
 इतिहास बिर्सनेप्रति इतिहास नै निर्मम हुन्छ
आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवस मान्ने हाम्रो परम्परा हो । सार्वजनिक बिदा दिँदै औपचारिक कार्यक्रमसहित उहाँप्रति सम्मान जनाउने पनि हाम्रो प्रचलन हो । २०६३ सालको राजनीतिक परिवर्तनपछि सत्तामा पुग्नेहरूले एकाएक यो क्रम टुटाइदिए, बिदा कटाइदिए यद्यपि जनआन्दोलनको माग त्यस्तो भएको प्रमाण कतै भेटिँदैन ।


इतिहास नियाल्ने हरेक नेपालीले पृथ्वीनारायण शाहको योगदानको उच्च मूल्याङ्कन गर्दछ; गर्नु पनि पर्छ । किनभने उहाँबाट त्यो सत्कार्य भएको छ, जसको तुलना प्रथम अमेरिकी राष्टपति जर्ज वाशिङटन र जर्मनी एकीकरणको लागि काम गर्ने ओट्टो फन बिस्मार्कसित गर्न सकिन्छ । ‘साझा फूलबारी’को अवधारणाबारे पृथ्वी प्रस्ट थिए, त्यसैले उनले बाईसे–चौबीसे राज्यलाई एकीकृत गरेपछि बनेको मुलुकलाई नेपाल नाम दिए; गोरखा भनेनन् । यो देश नबनेको भए सीमाविद् बुद्धिनारायण श्रेष्ठले भनेझैं यहाँका कुनै भूखण्ड भारतको विहारमा र कुनै बङ्गाल र यूपीमा पर्थे होलान् ।

पृथ्वीलाई शाहवंशीय राजाको रूपमा भन्दा नेपाल–निर्माता भनेर सम्झना गरिनु उचित हुन्छ । नेपाली सेनाले पृथ्वीनारायण शाहलाई आज पनि सर्वोच्च स्थानमा राखेको छ, जुन उचित र प्रशंसनीय कार्य हो । इतिहाससम्मत कुरालाई यसै तरिकाले राजनीतिक नेतृत्व एवं निजामती प्रशासनले पनि स्वीकार गर्नु आवश्यक छ । यसो गर्दा एकतर्फ एकरूपता कायम हुन्छ भने अर्कोतर्फ सुसङ्गत नीतिको अख्तियारीले जनसाधारणबीच सही सन्देश प्रवाहित हुन पाउँँछ । किनभने अहिलेको नेपाललाई एकताको आवश्यकता झन् टड्कारो छ।

आधुनिक नेपालको इतिहासमा शाहकालकै क्रममा १०४ वर्षको राणाकाल आयो । कसैलाई राणाकाल मन परेन भन्दैमा त्यो कालखण्ड कटाउन मिल्दैन । अर्थात् इतिहासलाई बिर्सन हुँदैन, जसले इतिहासबाट पाठ सिक्न चाहँदैन त्यसलाई इतिहासले नै निर्मम भएर पाठ पढाउँछ । यस शाश्वत सत्यप्रति कसैले आँखा चिम्लिन सक्दैन ।

हाल सरकारमा बसेकाहरू कृतघ्न हुन सक्लान्, तर नेपालीको चिनारी पाएका यहाँका जनता पृथ्वीनारायण शाहप्रति सदा–सर्वदा आभारी रहिआएका छन्; रहनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्