
काठमाडौं, ६ असोज — उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको संयुक्त राष्ट्रसंघमा दिएको भाषणमाथि क्रुद्ध प्रतिक्रिया दिएका छन् ।

उनले ट्रम्पलाई ‘दिमाग खुस्किएको अमेरिकी बूढोलाई आगो बर्साएर तह लगाउने’ धम्की दिए । उनले प्रयोग गरेको अंग्रेजी शब्द डोटार्ड अर्थात् बूढोले धेरैको ध्यान आकर्षित ग–यो ।
मंगलवार ट्रम्पले संयुक्त राष्ट्रसंघको साधारणसभालाई सम्बोधन गर्ने क्रममा किमलाई ‘रकेट मानव’ को संज्ञा दिँदै अमेरिकाले आफ्नो सुरक्षाका लागि बाध्य हुनुपरेमा उत्तर कोरियालाई ‘पूरै ध्वस्त’ पार्ने धम्की दिएका थिए ।
यसैको प्रतिक्रियास्वरूप किमले बिहीवार एक वक्तव्य जारी गर्दै ट्रम्पको भाषण ‘अभूतपूर्व रूपमा छुच्चो र वाहियात’ भएको र उनलाई ‘शब्द छनोट गर्दा विवेक प्रयोग गर्न’ सल्लाह दिएका थिए ।
किमले आणविक परीक्षण कहिल्यै नत्याग्ने र ट्रम्पले भाषणका लागि चर्को मूल्य तिर्नुपर्ने धम्की दिए ।
‘उनको भाषणबाट मलाई के विश्वास भयो भने मलाई यसले तर्साउनु वा रोक्नु भन्दा पनि मैले हिँडेको बाटो ठीक छ र म अन्तिमसम्म त्यही बाटो हिँडिरहनेछु,’ वक्तव्यमा लेखिएको छ । ‘सुस्तश्रवण भएको वृद्धले आफूले बोल्न चाहेको कुरा मात्र सुन्छन् र उनको उपचार गर्नका लागि कारवाही नै चलाउनुपर्छ ।’
किमको वक्तव्यमा नयाँ कुरा केही नभएपनि उनले प्रयोग गरेको डोटार्ड शब्दले भने धेरैको ध्यान खिच्यो ।
अमेरिकीहरूले डोटार्ड शब्दको इन्टरनेटमा खुबै खोजी गरे र ट्रम्पका लागि यो नयाँ उपनाम ठीक हुने बताए ।
तर किमको मूल कोरियाली भाषामा प्रयुक्त शब्दको सिधा अनुवाद ‘बौलाहा बूढो’ हुन्छ भनी केहीले लेखे ।
एजेन्सी