०२ साउन २०८३, शनिबार

भारतका प्रधानमन्त्री मोदीसहित विश्व समुदायले गरे इजरायलमाथिको आक्रमणको निन्दा, इरान भने हमासको पक्षमा

असोज २१, २०८०
काठमाडौं
भारतका प्रधानमन्त्री मोदीसहित विश्व समुदायले गरे इजरायलमाथिको आक्रमणको निन्दा, इरान भने हमासको पक्षमा

वासिङ्टन–संयुक्त राष्ट्रसङ्घले गाजापट्टी शनिबार भएको घटनाले विश्व समुदायलाई चिन्तित बनाएको बताएको छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख भोल्कर तुर्कले भने, ‘म हिंसा तत्काल रोक्न आह्वान गर्दछु र थप रक्तपात हुन नदिन सबै पक्ष र यस क्षेत्रका प्रमुख देशहरुलाई तनाव कम गर्न अपिल गर्दछु ।’

उनले इजरायली नागरिकलाई बन्धक बनाइएको भन्ने खबरप्रति आफू निकै चिन्तित रहेको बताएका छन् ।

प्यालेस्टाइनी लडाकू समूह हमासले शनिवार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको हो । गाजापट्टीमा भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको आक्रमणपछि हमाससँग युद्ध भइरहेको बताएको छ ।

अमेरिकाले इजरायलविरुद्ध हमास ‘आतङ्ककारी समूह’का लडाकुले गरेको आक्रमणको ‘स्पष्ट शब्दमा’ निन्दा गरेको ह्वाइट हाउसले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रिएन वाट्सनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हमासका आतङ्ककारीहरूले इजरायली नागरिकमाथि गरेको अकारण आक्रमणको संयुक्त राज्य अमेरिका कडा एवं स्पष्ट शब्दमा निन्दा गर्दछ ।’

राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीसँग कुरा गर्दै यस अभियानको बारेमा इजरायली साझेदारहरूसँग घनिष्ठ सम्पर्कमा रहने बताएका छन् । 

वाट्सनले भने, ‘हामी इजरायल सरकार र जनताको साथमा दृढतापूर्वक उभिएका छौं र यी आक्रमणमा ज्यान गुमाएका इजरायलीका आपन्तजनप्रति समवेदना प्रकट गर्दछौं ।’

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गाजाका लडाकू समूहले गरेको आक्रमणपछि आफ्नो देश इजरायलसँग ऐक्यवद्धताका साथ उभिएको बताएका छन् । ‘इजरायलमा आतङ्कवादी हमलाको खबरले म स्तब्ध भएको छु,’ मोदीले ट्वीटरमा लेखेका छन्, ‘यस कठिन घडीमा हामी इजरायलको साथमा छौं ।’

त्यसैगरी ब्रसेल्सबाट प्राप्त समाचारमा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि गरेको आक्रमणपछि युरोपेली सङ्घ (ईयू)का विदेश नीति प्रमुख जोसेप बोरेलले शनिबार सर्वसाधारणलाई बन्धक बनाउने कार्यलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भन्दै निन्दा गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘नागरिकहरूलाई उनीहरूको घर वा गाजामा बन्धक बनाइएका समाचारहरू डरलाग्दो छन् । यो अन्तर्राष्ट्रिय कानुनविपरीत छ । बन्धक बनाइएकाहरूलाई तुरुन्तै रिहा गर्नुपर्छ ।’ 

रुसी विदेश मन्त्रालयले ‘युद्ध’ लाई तत्काल रोक्न र बृहत् तथा स्थायी शान्तिको लागि आग्रह गरेको छ । 

आक्रमणप्रति बेलायत, फ्रान्स, जर्मनी, यमनलगायतका विश्व समुदायले पनि चासो व्यक्त गरिसकेका छन् । उनीहरूले प्यालेटिनी क्षेत्रमा भएको युद्ध अन्त्यको लागि कामना गरेका छन् भने स्थायी शान्ति कायम गर्न द्वन्द्वरत दुवै पक्षसँग आह्वान गरेका छन् । 

साउदी अरेबियाको विदेश मन्त्रालयले दुई पक्षबीचको तनाव तत्काल रोक्न, नागरिकको सुरक्षा र आत्मसंयमका लागि आह्वान गरेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साउदी अरेबियाले दुई पक्षबीचको तनाव तत्काल रोक्न, नागरिकको सुरक्षा र आत्मसंयमका लागि आह्वान गर्दछ । प्यालेस्टाइनी जनतालाई उनीहरूको वैध अधिकारबाट निरन्तर बञ्चित गरिँदा विस्फोटक स्थितिको खतरा उत्पन्न भएको छ,’ विज्ञप्तिमा भनिएको छ । 

इरानले भने हमासद्वारा इजरायलमाथि गरेको आक्रमणको समर्थन गरेको छ ।  इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका वरिष्ठ सल्लाहकारले आक्रमणलाई ‘गौरवपूर्ण अभियान’ भनेका छन् । 

‘हामी यो अभियानलाई समर्थन गर्दछौं,’ याह्या रहिम सफावीले उद्धृत गर्दै आईएसएनए समाचार एजेन्सीले लेखेको छ । सफावीले प्यालेस्टाइन र जेरुसेलमको मुक्ति नभएसम्म प्यालेस्टाइनी लडाकूलाई समर्थन गरेको बताए । शनिवार संसद्को बैठकमा इरानी सांसदहरूले ‘डाउन विथ इजरायल’, ‘डाउन विथ अमेरिका’ र ‘वेलकम प्यालेस्टाइन’ जस्ता नारा लगाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्