२६ जेठ २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

इजरायलमा कार्यरत नेपाली त्रासमा, निरन्तरको भिडन्तले घाइतेको उद्धारमा कठिनाइ

असोज २१, २०८०
काठमाडौं
इजरायलमा कार्यरत नेपाली त्रासमा, निरन्तरको भिडन्तले घाइतेको उद्धारमा कठिनाइ

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
इजरायलमा भएको आतंककारी हमलापछि त्यहाँ कार्यरत नेपाली त्रासमा रहेका छन् । निरन्तर प्यालेस्टाइनी आतंकारी समूहबाट रकेट प्रहारका साथै स्थलमार्गबाटै पनि आक्रमण हुँदा इजरायल अशान्त बनेको हो । 

आतंककारी हमलामा परी इजरायल प्यालेस्टाइनको सीमामा पर्ने गाजा क्षेत्रमा कार्यरत नेपालीहरु पनि घाइते भएका छन् । हालसम्म ९ जना घाइते भएको र उनीहरु उपचार पाउनबाट बञ्चित भएका छन् । बंकरमै घाइते अवस्थामा नेपालीहरु बस्न बाध्य भएका छन् ।

 बाहिर निरन्तर भिडन्त भइरहेकाले उद्दारमा कठिनाइ भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । हाल दुई जना अस्पताल पुग्न सफल भएपनि अन्यको भने उपचार हुन नसकेको हो । उनीहरुलाई अस्पताल लैजानका लागि निरन्तर पहल भइरहेको अस्पतालको भनाइ छ ।

बंकर छिर्ने क्रममा गोली तथा रकेटको छर्रा लागेका उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरु घाइतेहरु कृषि प्रशिक्षार्थी कामदार रहेको बताइएको छ । कृषि प्रशिक्षार्थीको रुपमा गएका १७ मध्ये ९ जना घटनामा परेका हुन् । 
इजरायलमा २ सय ५० कृषि विद्यार्थीसहित ४ हजार ५ सय जना नेपाली कार्यरत छन् ।
००००
सरकारले इजरायलमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको छ । साथै सरकारले हमलामा अमूल्य जीवन गुमेकामा तथा धेरै मानिस घाइते दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले इजरायल सरकार तथा त्यहाँका जनताका साथै हमलामा परी जीवन गुमाएकाहरूका परिवारप्रति गहिरो सहानुभूति एवं समवेदना व्यक्त गरेको छ । नेपाल सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
००००
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएका छन् ।
प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले पदबाट राजीनामाको घोषणा गरेका हुन् । यसैबीच प्रदेश प्रमुखले नयाँ सरकार बनाउन शुक्रबारसम्मको समय दिएर आह्वान गरेका छन् । 
००००
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले शनिवार अपराह्न शिष्टाचार भेट गरेका छन् । 
राष्ट्रपति आवास शीतल निवासमा भएको उक्त भेटमा संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाका क्रममा हालै भएको आफ्नो अमेरिका र छिमेकी राष्ट्र चीनको भ्रमणबारे प्रधानमन्त्री दाहालले जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।
००००
गत साउन ३० गते गठित गण्डकी प्रदेशसभाका विषयगत समितिले सभापतिको टुङ्गो लगाएका छन् । शनिबार चारवटै समितिको नेतृत्वमा एकल उम्मेदवारी परेपछि सभापति निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेशसभा सचिवालयका अनुसार सार्वजनिक लेखा समितिको सभापतिमा प्रदेशसभा सदस्य सुधिरकुमार पौडेल, अर्थ तथा विकास समितिको सभापतिमा भोजराज अर्याल, सामाजिक विकास तथा कृषि समितिको सभापतिमा फणिन्द्र देवकोटा र प्रदेश मामिला तथा कानुन समितिको सभापतिमा चम्पादेवी खड्काको उम्मेदवारी परेको थियो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्