०६ असार २०८३, शनिबार

सुक्खा पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग पाँच घण्टापछि सञ्चालनमा

असोज २१, २०८०
काठमाडौं
सुक्खा पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग पाँच घण्टापछि सञ्चालनमा
फाइल फोटो

सुक्खा पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार सडकखण्ड पाँच घण्टापछि पुनः सञ्चालन भएको छ ।​ 

म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान ४ः५० बजे सुक्खा पहिरो खसेर उक्त खण्ड अवरुद्ध भएको थियो । 

सुक्खा पहिरो पन्छाएर पाँच घण्टाको प्रयासमा राजमार्ग सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

उनका अनुसार विपद् व्यवस्थापन प्रहरी टोल, स्थानीय पालिका र चिनियाँ कम्पनीसँगको सहकार्यबाट पहिरो हटाइएको हो । मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्ताबाट खसेको पहिरोका कारण उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध थियो ।

राजमार्ग विस्तारका क्रममा भित्ता खारिँदा उक्त खण्ड पहिरोको जोखिममा रहँदै आएको छ । उक्त ठाउँमा यसअघि पनि पटक–पटक पहिरो गइरहेको छ ।

प्रहरीले पहिरोले सडक अवरुद्ध भएको अवस्थामा तनहुँ हुँदै कास्कीतर्फ जाने सानाठूला तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्गका रुपमा दमौली भोर्लेटार चोकबाट कलेस्ती–पोल्याङ–कास्कीतर्फ पठाउने गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्