०४ असार २०८३, बिहीबार
दु:खद् घटना

२६ दिनअघि कृषि तालिम लिन इजरायल पुगेका थिए आनन्द, परिवारमा वज्रपात

असोज २१, २०८०
काठमाडौं
२६ दिनअघि कृषि तालिम लिन इजरायल पुगेका थिए आनन्द, परिवारमा वज्रपात

इजरायलमा शनिवार भएको आतंककारी हमलामा परी १० जना नेपाली नागरिकको निधन भएको छ । त्यसमध्ये धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ४ सपहीका २२ वर्षीय आनन्द साह समेतको निधन भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रेग्मीले पुष्टि गरेकी छन् ।

आनन्दको मृत्यु भएको खबर आइतबार दिउँसो ४ बजे गाउँमा फैलिएको वडाध्यक्ष रमेश कुमार साहले बताए । 'इजरायलमा हमला भएको दिन शनिवार नै आनन्दका दिदीले फोन गरेकी थिइन् । तर, फोन बजे पनि उठेको थिएन । आज आइतबार पनि उनको फोनमा रिङ जान्छ तर फोन उठेको छैन,' वडाध्यक्ष साहले लोकान्तरसँग भने,'सरकारले अहिलेसम्म उनी मारिएकोबारे परिवारका सदस्यलाई कुनै जानकारी गराएको छैन । तर, आनन्दकी बहिनीहरूले इजरायलका केही मानिससँग कुरा गर्दा आनन्दको निधन भएको कुरा आएको छ ।'

आनन्द परिवारको एक्लो छोरा हुन् । उनका तीन दिदीबहिनी छन् । 'गत भदौ २६ गतेमात्र उनी कृषिसम्बन्धी तालिम लिनका लागि गएका थिए,' वडाध्यक्ष साहले थपे,'कृषिसम्बन्धी तालिम लिन उनीसँगै नेपालका अरू २५ जना विद्यार्थीहरू गएका थिए ।' जनकपुरको एन्जलस बोर्डिङ स्कुलबाट एसईई र मिट क्याम्पसबाट आईएससी उत्तीर्ण गरेका आनन्द त्यसपछि  इजरायल पुगेका थिए ।

घर परिवारका कुनै पनि सदस्य अहिले बोल्ने अवस्थामा छैनन् । आनन्दका बुवा सोमन साहले जसोतसो छोरालाई पढाएका थिए । 'आनन्द निकै मिहिनेती र राम्रो विद्यार्थी थिए । उनको घर परिवारको आर्थिक अवस्था राम्रो छैन,' वडाध्यक्ष साहले थपे,'पढेर र इजरायलबाट तालिम लिएर आएपछि गाउँमै केही गर्छ भन्ने सपना बुबाले बोकेका थिए ।' 

आमा, बुबा सबै आनन्दको घटनाबारे सुनेर मुर्छित भएका छन् । अहिले सिंगो गाउँ नै शोकमा डुबेको साहले बताए । 'दुई दिनअघि शुक्रवार आनन्दसँग उनका बहिनीहरूले फोनमा कुराकानी गरेका थिए । तर त्यो दिन उनको आमा बुवासँग कुरा हुन सकेको थिएन,' साहले थपे,'शनिवार आमा बुवासँग कुरा गर्छु भनेका आनन्दसँग कुरा गर्न आमा बुबाले शनिवार देखि नै फोन गरे पनि फोन त बजेको छ । तर आज आइतबार सम्म पनि फोन उठेन । '

परिवारको एक्लो छोराको विदेसिएको २६ दिनपछि निधन भएको खबरसँगै परिवारमा वज्रपात भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्