
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको निःशुल्क यातायात सेवालाई कटौती गरेको छ । आर्थिक वर्ष २०७४/०७५ देखि सो गाउँपालिकाले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सेवा सुरुआत गरेको थियो ।
लक्षित वर्गको नाममा परिवारका अन्य व्यक्तिले पनि सुविधा लिएको पाइएका कारण ज्येष्ठ नागरिक निःशुल्क यातायात सेवा बन्द गरिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए । “प्रभावकारी मापदण्ड अभावमा कतिपय ज्येष्ठ नागरिकका आफन्तले टिकट देखाएर निःशुल्क यातायात सेवा लिएको खुलेको छ”, उनले भने, “लक्षित वर्गको नाममा परिवारका अन्य सदस्यले पनि गाउँपालिकाले दिएको सुविधा लिएको पाइएका कारण उक्त सुविधा नै हटाइएको हो ।”
गाउँपालिकाको कार्यालय र खोटाङ यातायात प्रालिबीचमा भएको सम्झौताअनुसार निःशुल्क यातायात सेवा पाउने ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्ने र सोही परिचयपत्र देखाएर निःशुल्क यात्रा गर्ने व्यवस्था गरिएको थियो तर, ज्येष्ठ नागरिकलाई वितरण गरिएको परिचयपत्र देखाएर परिवारका अन्य सदस्यले दुरुपयोग गरेको पाइएको गाउँपालिकाले जनाएको छ ।