३० जेठ २०८३, शनिबार

हतारमा एभोकाडो टिपेर बजार नपुर्‍याउन किसानसँग आग्रह

असोज २२, २०८०
विराटनगर
हतारमा एभोकाडो टिपेर बजार नपुर्‍याउन किसानसँग आग्रह

धनकुटा नगरपालिकाले हतारमा एभोकाडो टिपेर बजार नपुर्‍याउन किसानसँग आग्रह गरेको छ । किसानले कलिलै टिपेर बेच्न थालेको गुनासो आएपछि नगरपालिकाले चासो दिएको हो । 

सिजनअगावै बजारमा छ्यापछ्याप्ती एभोकाडो पुर्‍याएपछि नगरपालिकाले ब्राण्डिङमा असर गर्ने भन्दै सार्वजनिक सूचना जारी गरेको हो । समयअगावै फल टिप्न थालेपछि गुणस्तरमै प्रश्न उठ्ने डरले नगरपालिकाले किसानलाई सतर्कता अपनाउन अनुरोध गरेको हो ।

फल परिपक्व भएपछि मात्रै बेच्न किसान, व्यापारी र उद्यमीलाई अनुरोध गरिएको धनकुटा नगरपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले बताए ।  

धनकुटाका अधिकांश घरमा एभोकाडो लगाइएको छ । ५ वर्ष पहिले नगरपालिकाले एभोकाडोको राजधानी घोषणा गर्दै किसानलाई एभोकाडो खेतीमा आकर्षित गरेको थियो । 

एभोकाडो परिपक्व भएको फल कसरी चिन्ने, फलको टिपाइ भण्डारण, ग्रेडिङ, प्याकेजिङ र लेवलिङबारे किसानलाई नगरपालिकाले सार्वजनिक सूचना मै जानकारी दिएको छ । 

पालिकाभित्र रामो उत्पादन हुन थालेपछि २०७५ वैशाखमा पहिलो पटक धनकुटाले एभोकाडो राजधानी घोषणा गरेको थियो । फलको नामबाट उत्सव मनाएको पालिकाले यसअघि यसको सम्भाव्यता अध्ययन गरेर किसानको आर्थिक उपार्जनमा थप टेवा पुग्ने गरी कार्यक्रम घोषणा गरिएको नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले जानकारी दिए । 

उनका अनुसार एक हजार ९६३ घरधुरीबाट शुरू भएको एभोकाडो खेती हाल ४ हजार ९२६ परिवारसम्म पुगेको छ । पालिकाभित्र ४ हजार ४० रोपनीमा भइरहेको खेती विस्तार भएर १२ हजार ९९ सय रोपनीमा पुगेको छ ।  

२०७५ सालमा नगरपालिका भित्रबाट २३ लाख ३२ हजारको एभोकाडो बिक्री भएको तथ्याङ्क थियो भने २०७८ सालमा ३ करोड १९ लाखको एभोकाडो बिक्री भएको अधिकारीले जानकारी दिए । 

एक पटक रोपेपछि वर्षौंसम्म उत्पादन दिने यस फलप्रति किसानहरूको आकर्षण बढिरहेको गरपालिकाले जनाएको छ ।
  
पालिका क्षेत्र भित्रका किसानलाई एभोकाडोको नर्सरी व्यवस्थापनदेखि बिरुवा र एभोकाडो जुस पसल सञ्चालन गर्न प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । 

धनकुटाको एभोकाडो धरान, इटहरी, विराटनगरसँगै काठमाडौँको बजारसम्म पुग्ने थालेका छन् । अहिले व्यवसायीले किसानको बगैँचामै पुगेर एभोकाडो खरिद गर्न थालेका छन् । नगरपालिकाले भने एभोकाडोलाई व्रान्डीङ गर्ने तयारी गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्