
संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूले इजरायलमा भएको घटनापछि उत्पन्न परिस्थितिको मिलेर सामना गर्ने सहमति गरेका छन् ।
सत्ताको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र)का नेता हितराज पाण्डेले बैठकपछि यसको जानकारी दिएका हुन् ।
सिंहदरबारमा सोमवार साँझ बसेको बैठकमा सबै दलका नेताले बोलेको जानकारी दिँदै उनीहरूले विषम परिस्थितिमा एकैखाले धारणा राखेको नेता पाण्डेले उल्लेख गरे ।
साथै, घटनाबारे सही सूचना जनतालाई सुसूचित गर्न पनि सरकारलाई सुझाव दिएको उनले बताए ।
नेपाली कांग्रेसका नेता रमेश लेखकले इजरायलमा रहेका नेपालीलाई कसरी सुरक्षित स्थानमा पुर्याउनेलगायत विषयमा छलफल भएको बताए ।
सम्पर्कविहीन अवस्थामा रहेकालाई खोज्न पहल गर्ने, शव चाँडै झिकाएर परिवारको जिम्मा लगाउने, देश फर्कन चाहने नेपालीका लागि जहाज पठाउनेजस्ता मन्त्रिपरिषद्ले गरेका निर्णय कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा छलफल भएको उनले जानकारी दिए ।
बैठकमा राजनीतिक दलहरूले भूराजनीतिलाई विचार गरेर सन्तुलित ढंगले प्रस्तुत हुन सरकारलाई सुझाव दिएको बैठकपछि नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिए ।
बैठकबाट निस्किएर सञ्चारकर्मीहरूलाई जानकारी दिँदै उनले आतंककारीले हमला गरे भन्ने ढंगले प्रस्तुत नहुन सरकारलाई एमालेले सुझाव दिएको बताए ।
‘नेपालको भूराजनीतिलाई विचार गरेर सरकारले सन्तुलित ढंगले प्रस्तुत हुनुपर्छ भनेर सुझाव दिएका छौं । यस्ता घटना बेला–बेलामा हुन्छन्, तर अब यस्तो नहोस् । यसर्थ आतंकारीले हमला गरे भन्ने ढंगले प्रस्तुत नहुन भनेका छौं,’ उनले भने ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले १० जना मृतकका परिवारलाई सरकारले राहतस्वरुप १० लाख दिनेलगायतका निर्णयको स्वागत गर्दै कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
सोमवार ६ बजेपछि एमाले, रास्वपा र राप्रपाका नेताहरू बैठकबाट बाहिरिएका थिए । त्यसपछि सत्ता गठबन्धनका नेताहरूको मात्रै बैठक बसेको थियो ।
पालेस्टाइनी संगठन हमासको आक्रमणमा परी १० जना नेपालीको ज्यान गएको छ ।
*माओवादी नेता हितराज पाण्डेले जानकारी दिए भन्नुपर्नेमाशुरूमा भुलबस अर्कैको नाम पर्न गएकोमा सच्चाइएको छ ।