
नवजात शिशु बिक्री गरेर बेपत्ता पारेको कसुरमा पक्राउ परेका ग्रीनक्रस हस्पिटलका सञ्चालक कृष्ण खवासलाई उन्मुक्ति दिएर जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेको छ ।
चिकित्सकसहित ६ जनालाई मात्र प्रतिवादी बनाएर मुद्धा दायर गरिएको हो । पक्राउ परेका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णसहित ६ जनाविरुद्ध मात्र मोरङ अदालतमा सोमवार साँझ मुद्दा दायर भएको हो ।
कर्णसहित ६ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा अपहरण तथा व्यक्ति बेपत्ता, एकीकृत कसुरसम्बन्धी मुद्दा दायर गरेको जिल्ला न्यायाधिवक्ता सुवासकुमार भट्टराईले जानकारी दिए । यस घटनामा प्रहरीले सात जनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेकामध्ये खवासले व्यवस्थापकको जिम्मेवारी सम्हालेको हस्पिटलबाट चिकित्सक कर्णले पाँच लाख रुपैयाँ लिएर नवजात शिशु निःसन्तान दम्पतीलाई बिक्री गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
नवजात शिशु बिक्रीको घटनामा अभिलेख नराखेको र हस्पिटल सञ्चालक खवासको पनि संलग्न रहेको भन्दै मतियार बनाएर प्रहरीले पक्राउ गरेको थियो । तर, जिल्ला सरकारी वकिलको कार्यालयले खवासको हकमा सबुत प्रमाण नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको छ ।
नवजात शिशु खरिद गर्ने, हस्पिटलका सरसफाइकर्मी, पाँच लाखमा शिशु बेच्ने डाक्टर तपेश्वरलाल कर्णका सहयोगी नर्स र शिशुको बाबुलाई मात्र प्रतिवादी बनाएर अभियोग दायर गरेको छ ।
अभियोग पत्रमा ग्रीनक्रस अस्पतालमा कार्यरत सरसफाइकर्मी सुधा राजबंशी, कटहरी गाउँपालिका २ की दिलमाया राजबंशी, ३० वर्षीय सूर्यनारायण राजबंशी, सिराहाको कल्याणपुर नगरपालिका १२ की नर्स निर्मला यादव, शिशुका बाबु भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई प्रतिवादी बनाएको छ । उनीहरूलाई तीनवटा मुद्दामा संयुक्त रूपमा १५ देखि २० वर्षसम्म कैदको माग दाबी लिएर अभियोग दर्ता गरिएको छ । अपहरणतर्फ सात वर्षदेखि १० वर्षसम्म कैद, व्यक्ति बेपत्तामा १५ वर्षसम्म माग दाबी लिएर अभियोग दर्ता भएको छ । अदालतमा मुद्दा दर्ता भएकाले मङ्गलवार प्रतिवादीहरूको बयान हुने र बयान सकिए सोहीदिन बहस हुने अदालतका सूचना अधिकारी होम सुवेदीले जानकारी दिए ।
भोजपुर हतुवा गढी–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी २६ वर्षीया प्रेमिको सम्बन्धबाट असार १४ मा छोरी जन्मिएकी थिइन् ।
विराटनगरको ग्रीनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई डा कर्णले मोरङको कटहरी–२ आदर्श टोलका सूर्यनारायण राजबंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको खुलेको थियो । प्रहरीले उनीसहित अपराधमा संलग्न सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । कर्णले उक्त बच्चाको व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रुपैयाँ लिएको पुष्टि भएको छ ।
डा कर्णको क्लिनिक ग्रीनक्रस अस्पतालनजिक छ । आफ्नो क्लिनिकमा आएकी गर्भवती युवतीलाई ग्रीनक्रसमा सुत्केरी गराएर अस्पतालकी सफाइ कर्मचारी सुधा राजबंशी र क्लिनिककी सहयोगी नर्स निर्मला यादवमार्फत डा कर्णले कटहरी–२ की दिलमाया राजबंशी र उनका छोरा सूर्यनारायणलाई उक्त शिशु पाँच लाखमा बिक्री गरेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ ।