
इजरायलमा हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको शोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरेको छ ।
गण्डकी प्रदेशका विभिन्न स्थानमा तय भएका कार्यक्रमहरू तत्कालका लागि स्थगित गरिएको पार्टी सभापति रवि लामिछानेले फेसबूकमार्फत जनाएका छन् ।
'गण्डकी प्रदेशका विभिन्न स्थानमा लामो तयारीपछि पार्टीका साथीहरूले अत्यन्त सक्रियताका साथ कार्यक्रमहरू राख्नुभएको थियो। तर इजरायलमा हमास आक्रमणपछि नेपालीहरूले ज्यान गुमाउन परेको विक्षिप्त अवस्थामा राष्ट्र नै शोकमा रहेका बेला हामीले भेलाहरू आयोजना गर्नु उचित नहुने निष्कर्षसहित गण्डकी प्रदेशका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिसकिएको सार्वजनिक जानकारी गराउन चाहन्छु। अहोरात्र खटेर कार्यक्रमहरूको तयारी गर्नुभएका रास्वपा गण्डकीका साथीहरूसहित हाम्रो कुरा सुन्न आउने तयारीमा रहनुभएका आमशुभेच्छुक जन-समुदायलाई असुविधाका लागि क्षमाप्रार्थी हुँदै स्थगित सबै कार्यक्रमहरू छिट्टै पुनः तालिका बनाएर सुचारू हुने समेत जानकारी गराउन चाहन्छु,' लामिछानेले लेखेका छन् ।
शनिवार हमासको आक्रमणमा परी इजरायलमा रहेका १० नेपाली युवाको मृत्यु भएको थियो । सरकारले आज मंगलवारका लागि राष्ट्रिय शोक समेत घोषणा गरेको छ ।