
पूर्वसभामुख कृष्णबहादुर महराले नेपालमा सुन तस्करी गर्ने मुख्य अभियुक्तसँग चिनजान र सम्पर्क भएको स्वीकारेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सरकारी वकिलको कार्यालयमा दिएको बयान कागजमा महराले उनीहरूसँग आफ्नो पुरानो चिनजान भएको तर, फलफूल व्यापारीका हिसाबले मात्रै चिन्ने गरेको बताएका छन् ।
भेप्समा भएको सुन प्रकरणमा विमानस्थल भन्सारका तत्कालीन प्रमुख अरुण पोखरेललाई सामान छुटाउन फोन गरेको पनि उनले स्वीकारेका छन् ।
'मिति २०७९/०९/१० गते फ्लाई दुबइको फ्लाइट नम्बर एफजेड ०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु ली हानसुङले दुई वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान ईलेक्ट्रिक सिगरेट (भेप्स्) त्रि.बि. भन्सार कार्यालयमा जफत भएपश्चात दाओजिन वाङले उक्त सामान त्रि. वि. भन्सार कार्यालयमा पक्राउ परेको तीन दिन भयो ? के भएको हो बुझिदिनु पर्यो भनि मलाई भनेको तथा मैले अरुण पोखरेललाई पहिले देखि चिनेको भएको हुनाले के कसो भएको हो, कानून बमोजिम के गर्न मिल्छ हेरि दिनुहोला भनि फोन गरेको हो,' उनले बयानमा भनेका छन्,'मेरो छोरा राहुल भन्ने रेशम महरा के कारणले उक्त ईलेक्ट्रिक सिगरेट (भेप्स्) जफत भएको रहेछ, कानून बमोजिम मिल्ने भए सहयोग गरि दिनु भनि अरुण पोखरेलको सम्पर्कमा गएका हुन् । निज दाओजिन वाङसँग मेरो पुरानो चिनजान हो, निजले मलाई आफू एउटा फलफूल व्यापारीको रूपमा नेपालमा व्यापार गर्ने भनि चिनाएका थिए र निजसँग सामान्य विषयमा फोनमा कुराकानी हुने गर्दथ्यो । योबाहेक निजसँग अन्य कुनै विषयमा कुराकानी हुने र अन्य कुनै किसिमको सम्बन्ध पनि छैन ।'