
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको गति र मति ठीक नभएको आरोप लगाउँदै कांग्रेस सांसद सञ्जय गौतमले कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन माग गरेका छन् ।
सरकारको अहिलेको कार्यशैलीले जनतामा निराशा छाएको र संविधान नै दुर्घटनामा पर्न सक्ने दाबी उनले गरे ।
शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेस केन्द्रीय सदस्य समेत रहेका गौतमले सरकारको गति र मतिले लोकतन्त्र नै खतरामा परेको बताएका हुन् ।
‘देश गम्भीर संकटमा छ । सरकार हामीले नै बनाएको हो । सरकार बनाउनका लागि मात्र बनाएको होइन, मुलुकलाई स्थिरता देओस्, आमजनतामा छाएको निराशा चिरोस् र आशाको सञ्चार गरोस् भनेका थियौं,’ गौतमले भने, ‘यो सरकारबाट जे अपेक्षा थिए, केही पूरा भएनन्, भ्रष्टाचार व्याप्त छ, अराजकता भइरहेको छ । यसले साह्रै ठूलो निराशा छ । यही गति र मतिबाट जाँदा लोकतन्त्र रहँदैन, देश संकटमा जान्छ ।’
देश आर्थिक संकटमा फस्दै गएको र जनतामा निराशा बढेको गौतमले बताए ।
‘यही गति र मतिले राम्रो परिणाम ल्याउँदैन । यस्तै हो भने कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं समयमै । संविधानमा आवश्यक संशोधन गरौं र निर्वाचन प्रणालीमा सुधार गरौं,’ गौतमले भने, ‘होइन भने दुर्घटनालाई कसैले रोक्न सक्दैन, घण्टी बजेको मात्र होइन संकेत देखिइसक्यो । समयमै बुद्धि नपुर्याए पश्चातापबाहेक केही हुने छैन । सबै मिलेर एकपल्ट निकास दिन जाऔं, होइन भने यो संविधान सबै सिद्धिएर जान्छन् ।’
गौतम नेपाली कांग्रेसको शेखर कोइराला पक्षका सांसद हुन् । कोइराला पक्षका ८ सांसदले कोशी प्रदेशमा विद्रोह गरी इन्द्र कार्कीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव पेश गरेका छन् ।