
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् ।
उनले कोशी प्रदेश सरकार निर्माणका क्रममा देखिएको घटनाक्रमप्रति आफू पनि कारक रहेको बताउँदै राजीनामा दिएको बताएका छन् ।
नैतिकताको आधारमा राजीनामा दिएको उनले बताए । 'मैले पाएको अवसरलाई गुमाएँ, अदालतले मलाई मुख्यमन्त्रीबाट हटायो । त्यतिबेलै मैले राजीनामा दिनु पर्थ्यो,' उनले भने, 'पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घटनाक्रमले गर्दा नैतिक रूपमा मैले संसदीय दलको नेताको रुपमा बसिरहन उपयुक्त नभएको महसुस गर्दै आजको मितिदेखि लागू हुने गरी मैले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताको पदबाट राजीनामा दिइएको छु ।'
दलको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिवद्ध रहँदै आगामी दिनमा क्रियाशील रहिरहने उनले बताएका छन् ।
साथै उनले नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई पनि बधाई दिएका छन् ।